
गान्तोक, 28 अक्टोबर (हि.स.)। सिक्किमको प्रजातन्त्रलाई सुदृढ बनाउन तथा पत्रकारिता, साहित्य र समाजसेवामा आफ्नो जीवनको लामो समय समर्पित गरेका वरिष्ठ पत्रकार, कवि तथा लेखक विजय बान्तवाको निधनप्रति सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले गहिरो दुःख व्यक्त गरेको छ।
एसडीएफ पार्टीले जारी गरेको शोक वक्तव्यमा स्वर्गीय वान्तवाको निधनले पार्टी स्तब्ध बनेको उल्लेख गर्दै उनले आफ्नो व्यावसायिक जीवनमा सिक्किमेली जनताको पक्षमा रहेर इमानदारीपूर्वक कार्य गरेको जनाएको छ।
सिक्किमको शान्ति, उन्नति र समृद्धिमा उनले आफ्नो क्षमताअनुसार महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै पार्टीले पत्रकारिताको माध्यमबाट समाजप्रति निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न उनी कहिल्यै पछि नहटेको बताएको छ। सत्तासामु नझुकी पत्रकारिताका मूल्य, मान्यता र आदर्शलाई उच्च स्थानमा राख्दै उनले समाजप्रति आफ्नो जिम्मेवारी निर्वाह गरेको पार्टीको भनाइ छ।
पत्रकारितासँगै साहित्यिक क्षेत्रमा पनि कलम चलाएका वान्तवाको निधनलाई सिङ्गो सिक्किमेली समाजका लागि अपूरणीय क्षति बताउँदै एसडीएफ पार्टीले उनको योगदानको उच्च मूल्याङ्कन गरेको छ। उनले आफ्नो जीवनको उर्वर समय सिक्किमको हितमा समर्पित गरेको पार्टीले उल्लेख गरेको छ।
एसडीएफ पार्टीले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल