
गान्तोक, 28 अक्टोबर (हि.स.)। जर्नलिस्ट युनियन अफ् सिक्किमले वरिष्ठ पत्रकार तथा साहित्यकार स्वर्गीय विजय बान्तवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज युनियनको कार्यलयमा शोक सभा आयोजना गर्यो। उक्त श्रद्धाञ्जली सभामा युनियनका अध्यक्ष प्रवीण खालिङ, सल्लाहकार भीम राउत, कार्यकारिणी समितिका सदस्यगण, प्रेस क्लब अफ् सिक्किमका महासचिव, संयुक्त सचिव, लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो। सभामा उपस्थित पत्रकारहरूले स्वर्गीय विजय बान्तवाको फोटोमा खादा अर्पण गर्दै मौन धारण गरेर श्रद्धाञ्जली अर्पण गरे।
सभामा युनियनका सल्लाहकार एवम् वरिष्ठ पत्रकार भीम राउतले विजय बान्तवाको दुःखद निधनको खबरले सिक्किमको पत्रकारिता जगत् मर्माहत भएको बताए। उनको निधनले सिक्किमेली पत्रकारितामा अपूरणीय क्षति पुगेको बताउँदै उनले स्वर्गीय बान्तवाले सिक्किमेली पत्रकारितामा पुर्याएको अमूल्य योगदानको स्मरण गर्दै उनी सिक्किमेली नेपाली पत्रकारिताको एकजना आधारस्तम्भ रहेको बताए।
सभामा युनियनका अध्यक्ष प्रवीण खालिङले बान्तवाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरे। अध्यक्ष खालिङले पनि स्वर्गीय बान्तवाले सिक्किमको पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानमाथि प्रकाश पारे।
सभामा वरिष्ठ पत्रकार विजय गुरुङले पनि दिवंगत बान्तवालाई श्रद्धाञ्जली अर्पण गर्दै सिक्किमका पत्रकारहरूले पत्रकारिताको आधारभूत मूल्य मान्यतालाई आत्मसात् गरेर काम गरेमा त्यो नै स्वर्गीय विजय बान्तवाप्रति सच्चा श्रद्धाञ्जली हुने बताए।
जर्नलिस्ट युनियन अफ सिक्किमले दिवङ्गत वरिष्ठ पत्रकार विजय वान्तावाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। उनले छाडिगएका पत्रकारिताका पदचाप इतिहासमा सधै बाँच्ने र नयाँ पुस्ता उनका असल कार्यहरूबाट अभिप्रेरित भइरहने विश्वास व्यक्त गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल