सीएपीद्वारा जनजाति कल्याण परिषद्का नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षण
सीएपीद्वारा जनजाति कल्याण परिषद्का नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षण


गान्तोक, 28 अक्टोबर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमअन्तर्गत अखिल सिक्किम अनुसूचित जनजाति कल्याण परिषद्का नेता तथा कार्यकर्ताहरूका लागि आयोजित दुईदिने प्रशिक्षण तथा कार्यशाला आज रानीपुलस्थित पार्टी मुख्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ।

अनुसूचित जनजाति समुदायको कल्याण, संवैधानिक संरक्षण, अधिकार तथा सुविधासम्बन्धी प्रावधान र जनजाति समुदायले सामना गरिरहेका सामाजिक तथा राजनीतिक चुनौतीहरूबारे पार्टीका नेता तथा कार्यकर्ताहरूको ज्ञान, चेतना र बुझाइ अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा अनुसूचित जनजाति समुदायसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल गरिएको थियो। विशेषगरी संवैधानिक अधिकार, कानुनी संरक्षण, कल्याणकारी प्रावधान तथा जनजाति समुदायको हित, पहिचान र सम्मानको संरक्षणमा जोड दिइएको थियो। यसका साथै समुदायका विशिष्ट समस्या तथा आवश्यकताहरू पहिचान गरी लोकतान्त्रिक र संवैधानिक माध्यमबाट यसको समाधानका लागि प्रभावकारी रूपमा कार्य गर्न परिषद्का प्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्ने विषयमा पनि छलफल भएको बताइएको छ।

कार्यक्रमको समापन दिवसमा अनुसूचित जनजाति कल्याण परिषद्का उपाध्यक्ष प्रभारी ओङ्देन छिरिङ लेप्चा मुख्य अतिथिका रूपमा उपस्थित थिए। दुईदिने प्रशिक्षण तथा कार्यशालामा सक्रिय सहभागिता जनाएका नेता तथा पार्टीका कार्यकर्ताहरूलाई सहभागिताका प्रमाणपत्रसमेत प्रदान गरियो।

पार्टीले संवैधानिक अधिकारबारे जनचेतना अभिवृद्धि गर्ने, अर्थपूर्ण सहभागितालाई प्रोत्साहन गर्ने तथा सिक्किमभरिका अनुसूचित जनजाति समुदायको कल्याण, सशक्तीकरण र समावेशी विकासका लागि निरन्तर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande