
दार्जिलिङ, 28 अक्टोबर (हि.स.)। दार्जिलिङको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको चौरस्ताको मौलिकता र संरक्षण सुनिश्चित गर्नुपर्ने मागसहित एडवर्ड्स फाउन्डेसन एवं इन्डियन गोर्खा जनशक्ति फ्रन्टका केन्द्रिय संयोजक अजय एडवर्ड्सले पश्चिम बङ्गाल सरकारका पञ्चायत तथा ग्रामीण विकास मन्त्री दिलीप घोषलाई ज्ञापनपत्र बुझाएका छन्।
मन्त्रीसँगको भेटका क्रममा एडवर्ड्सले चौरस्तामा सरस मेला तथा अन्य ठूला कार्यक्रम आयोजना गर्दा स्थानीय बासिन्दाले भोग्नुपरेका समस्याबारे ध्यानाकर्षण गराएका छन्। यसका साथै, पहाडका महिला उद्यमी, ग्रामीण कारीगर तथा स्वयं सहायता समूहमा आबद्ध सदस्यहरूलाई आर्थिक रूपमा सशक्त बनाउन विभिन्न प्रस्तावसमेत अघि सारेका छन्।
ज्ञापनपत्रमा दार्जिलिङको चौरस्ताको संरक्षण गर्दै स्थानीय उत्पादन, हस्तकला र पहाडी समुदायको उद्यमशीलतालाई प्रवर्द्धन गर्न सरकारसँग आग्रह गरिएको छ। मेला आयोजना गर्ने र स्थानीय बासिन्दाको सुविधाबीच सन्तुलन कायम गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
एडवर्ड्सका अनुसार, चौरस्ता केवल पर्यटकीय स्थल मात्र नभई स्थानीय बासिन्दाको दैनिक जीवन, सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण सार्वजनिक स्थल हो। स्थानीय बासिन्दा बिहान-बेलुका हिँडडुल गर्न, व्यायाम गर्न, प्रार्थना गर्न, साथीभाइसँग भेटघाट गर्न तथा शान्त वातावरणमा समय बिताउन यहाँ आउने गर्छन्।
विशेषगरी ज्येष्ठ नागरिकका लागि चौरस्ता दैनिक शारीरिक अभ्यास, मानसिक सन्तुष्टि र सामाजिक सम्पर्कको महत्त्वपूर्ण केन्द्र रहेको उनले ज्ञापनपत्रमा उल्लेख गरेका छन्। तर, चौरस्तामा पटक-पटक मेला तथा ठूला कार्यक्रम आयोजना गरी पसल र स्टलहरू राख्दा स्थानीय बासिन्दाको नियमित गतिविधिमा बाधा पुग्ने गरेको उनको भनाइ छ।
अजय एडवर्ड्सले चौरस्तामा सरस मेला आयोजना गर्नुको सट्टा दार्जिलिङको भानु भवन वा अन्य उपयुक्त मैदान तथा प्रतिष्ठानमा सञ्चालन गर्न सरकारसमक्ष आग्रह गरेका छन्।
वैकल्पिक स्थल छनोट गर्दा स्थानीय बासिन्दासँग पर्याप्त छलफल र परामर्श गर्नुपर्ने उनको सुझाव छ। यसो गर्न सके स्थानीय कारीगर, महिला उद्यमी तथा स्वयं सहायता समूहका सदस्यहरूले आफ्ना उत्पादन बिक्री गर्ने अवसर पाउने र चौरस्तालाई पनि सर्वसाधारणले सहज रूपमा उपयोग गर्न सक्ने उनले बताएका छन्।
एडवर्ड्सले पहाडी क्षेत्रमा आगामी दिनमा आयोजना गरिने मेलाहरूलाई ‘गोर्खा नारी उद्यम मेला’ नामकरण गर्ने प्रस्तावसमेत अघि सारेका छन्। यसमार्फत पहाडी क्षेत्रका महिला उद्यमीहरूको क्षमता, सीप, सिर्जनशीलता र आर्थिक योगदानलाई विशेष महत्त्व दिन सकिने उनको भनाइ छ।
स्थानीय महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री, परम्परागत वस्तु, घरायसी उत्पादन तथा पहाडी समुदायको पहिचान झल्काउने सामग्रीलाई मेलाको प्रमुख आकर्षण बनाउन सकिने प्रस्ताव गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक