
दार्जिलिङ, 28 अक्टोबर (हि.स.)। दार्जिलिङको प्रतिष्ठित चौरस्ता परिसरमा नवौँ दार्जिलिङ सरस मेला २०२६ को आज भव्य उद्घाटन गरिएको छ। पश्चिम बङ्गाल सरकारका पञ्चायत तथा ग्रामीण विकास मन्त्री दिलीप घोष र सोही विभागका राज्यमन्त्री सन्तनु प्रमाणिकले संयुक्त रूपमा मेलाको उद्घाटन गरेका हुन्। आगामी ६ नोभेम्बरसम्म सञ्चालन हुने यस मेलाले ग्रामीण उद्यमी, हस्तकर्मी तथा स्वयं सहायता समूहमा आबद्ध सदस्यहरूलाई आफ्ना उत्पादनको प्रदर्शनी र बिक्रीका लागि महत्त्वपूर्ण मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ।
पश्चिम बङ्गाल राज्य ग्रामीण जीविकोपार्जन अभियानद्वारा पञ्चायत तथा ग्रामीण विकास विभागको तत्वावधानमा आयोजित उद्घाटन समारोहमा दार्जिलिङका विधायक नोमन राई, खरसाङका विधायक सोनाम लामा, कालेबुङका विधायक भरत छेत्री, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका मुख्य सचिव एवं प्रशासक स्मृतिरञ्जन मोहन्ती, दार्जिलिङका जिल्लापाल हरिशङ्कर पाणिकरलगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
मेलामा पश्चिम बङ्गालका सबै जिल्लाका साथै देशका अन्य १२ राज्यका हस्तकला कारीगर, उद्यमी तथा स्वयं सहायता समूहका सदस्यहरूले सहभागिता जनाएका छन्। मेलामा करिब ३४० वटा स्टल राखिएका छन्, जहाँ ग्रामीण उत्पादन, हस्तकलाका सामग्री तथा परम्परागत सीपबाट तयार गरिएका वस्तुहरूको प्रदर्शनी र बिक्री भइरहेको छ।
यसका साथै, दार्जिलिङ तथा सहभागी जिल्लाहरूका स्थानीय परिकार र विभिन्न क्षेत्रका परम्परागत खानाको स्वाद लिन सकिने विशेष खाद्य कक्षको व्यवस्था गरिएको छ। मेलालाई थप आकर्षक बनाउन परम्परागत सङ्गीत, लोकनृत्य तथा विभिन्न राज्यको सांस्कृतिक पहिचान झल्काउने कार्यक्रमहरू पनि आयोजना गरिनेछन्।
उद्घाटनका क्रममा मन्त्री दिलीप घोषले दार्जिलिङ पहाडका स्थानीय हस्तकला, परम्परागत सीप तथा मौलिक उत्पादनको प्रवर्द्धन गर्न आगामी दिनमा पनि यस्ता मेला आयोजना गर्ने योजना रहेको जानकारी दिएका छन्। यस्ता कार्यक्रमले स्थानीय उत्पादनको पहिचान स्थापित गर्नुका साथै ग्रामीण कारीगर तथा उद्यमीहरूलाई नयाँ बजारसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरेका छन्।
सरस मेलाको मुख्य उद्देश्य ग्रामीण क्षेत्रका कारीगर, उद्यमी तथा स्वयं सहायता समूहका सदस्यहरूलाई बजारसम्म प्रत्यक्ष पहुँच प्रदान गर्नु, परम्परागत हस्तकला र सीपको संरक्षण गर्नु तथा ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउनु रहेको छ।
विशेषगरी ग्रामीण महिलाहरू तथा साना उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रचारप्रसार र बिक्रीवितरणका लागि राष्ट्रियस्तरको मञ्च उपलब्ध गराउने यस मेलाले उनीहरूको आर्थिक सशक्तीकरण तथा जीविकोपार्जनका अवसर विस्तार गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक