
दार्जिलिङ, 28 अक्टोबर (हि.स.)। दार्जिलिङको चौरस्ता परिसरमा आजदेखि शुरू भएको सारस मेलाका क्रममा भीआईपीहरूका लागि निर्माण गरिएको अस्थायी शौचालयप्रति गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो), दार्जिलिङ ब्राञ्चले आपत्ति जनाएको छ।
चौरस्ता परिसरमा शौचालयको पर्याप्त व्यवस्था हुँदाहुँदै पनि आयोजक पक्षले अस्थायी शौचालय निर्माण गर्नु स्थानीयवासीको सम्मान र भावनाप्रतिको बेवास्ता भएको गोरामुमो दार्जिलिङ ब्राञ्चले जनाएको छ। गोरामुमोले सार्वजनिक स्थलको मर्यादा कायम राख्न र स्थानीयवासीको भावनाको सम्मान गर्न उक्त अस्थायी शौचालय तत्काल हटाउन आयोजक टोलीसँग माग गरेको छ।
साथै, सार्वजनिक स्थलमा कुनै पनि संरचना निर्माण गर्दा सम्बन्धित पक्षले स्थानीय क्षेत्रको गरिमा, मर्यादा र जनभावनालाई प्राथमिकता दिनुपर्नेमा गोरामुमोले जोड दिएको छ।
हिन्दुस्थान समाचार / हनोक