
गान्तोक, 28 अक्टोबर (हि.स.)। आगामी 14 देखि 21 नोभेम्बर, 2026 सम्म सिक्किममा आयोजना हुने 49औँ जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशिपको तयारीबारे समीक्षा गर्न बुधवार मुख्य सचिवको अध्यक्षतामा एक समन्वय बैठक सम्पन्न भएको छ।
आठ दिवसीय उक्त प्रतिष्ठित राष्ट्रिय स्तरको खेलकुद प्रतियोगितामा 32 राज्य तथा केन्द्र शासित प्रदेशबाट 500 भन्दा बढ़ी खेलाड़ी र 50 भन्दा बढ़ी प्राविधिक पदाधिकारीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। यस च्याम्पियनशिपको महत्त्वलाई ध्यानमा राख्दै सिक्किम सरकारले यसलाई राज्यस्तरीय कार्यक्रमको रूपमा घोषणा गरेको छ।
बैठकमा ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमका अध्यक्ष जेकब खालिङ, वरिष्ठ उपाध्यक्ष छिरिङ पाल्देन, खेलकुद तथा युवा मामिला विभागकी सचिव, विभिन्न विभागका प्रमुख, सम्बन्धित विभागका वरिष्ठ अधिकारीगण र ब्याडमिन्टन एसोसिएशनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैठकको क्रममा ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमका अध्यक्षले हालसम्म भएका तयारीहरूको विवरण प्रस्तुत गर्नुका साथै च्याम्पियनशिपको सफल सञ्चालनका लागि आवश्यक बाँकी कार्यहरूबारे जानकारी गराए। छलफल मुख्यतया तयारीको अन्तिम चरणमा विभिन्न विभागबाट आवश्यक पर्ने सहयोगमा केन्द्रित थियो, जसमा अन्तरविभागीय समन्वय, बाँकी रहेका व्यवस्थापन कार्यहरू समयमै सम्पन्न गर्ने र प्रभावकारी रसद सहयोग उपलब्ध गराउने विषयमा जोड़ दिइयो।
मुख्य सचिवले च्याम्पियनशिपलाई सुचारु र सफलतापूर्वक सम्पन्न गर्न सम्बन्धित सबै विभाग र आयोजक संस्थाबीच घनिष्ठ समन्वय हुनुपर्ने विषयमा रेखाङ्कित गरे। आवश्यक कार्यहरू समयमै र समन्वयात्मक ढङ्गले पूरा गर्न सकियोस् भनेर सहभागी विभागहरूलाई उनीहरूको भूमिका र जिम्मेवारीबारे जानकारी गराइयो।
तयारी अन्तिम चरणमा पुगेको सन्दर्भमा यस बैठकले राष्ट्रिय च्याम्पियनशिपलाई सफलतापूर्वक आयोजना गर्न तथा सहभागी युवा खेलाड़ी र प्राविधिक पदाधिकारीहरूका लागि अनुकूल वातावरण सिर्जना गर्न सरकार र आयोजक संस्थाको सामूहिक प्रतिबद्धतालाई उजागर गर्यो।
यस च्याम्पियनशिपको आयोजनाले सिक्किमका युवाहरूमाझ ब्याडमिन्टन खेलको प्रवर्द्धन गर्न महत्त्वपूर्ण मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ भने यसले राष्ट्रियस्तरमा सिक्किमको खेलकुद सम्भावना र साङ्गठनिक क्षमतालाई पनि प्रदर्शन गर्नेछ।
---------------
हिन्दुस्थान समाचार / बिशाल