
खरसाङ, 28 अक्टोबर (हि.स.)। खरसाङ बजारमा सिण्डिकेटका गाडीहरू पुरानै स्थानबाट सञ्चालन हुन थालेका छन्। प्रशासनले सडकमा गाडीहरू राख्न रोक लगाएपछि उत्पन्न समस्याबारे खरसाङका विधायक सोनाम लामा र पुलिस प्रशासनबीच छलफल भएको थियो। उक्त छलफलपछि गाडीहरू पुनः पुरानै स्थानबाट सञ्चालन भइरहेको चालकहरूले जनाएका छन्।
यस विषयमा आज खरसाङमा आयोजित पत्रकार सम्मेलनमा सिण्डिकेटका चालकहरूले सर्वसाधारणलाई पुरानै स्थानमा आएर गाडी चढिदिन आग्रह गरेका छन्। चालकहरूको पक्षबाट पत्रकारहरूलाई सम्बोधन गर्दै धिरेन प्रधानले केही दिनअघि खरसाङ महकुमा पुलिस अधिकारीको नेतृत्वमा सिण्डिकेटका गाडीहरू सडकमा राख्न रोक लगाइएको जानकारी दिए। यसपछि गत २६ अक्टोबरमा खरसाङका विधायक सोनाम लामालाई ज्ञापनपत्र बुझाइएको र पुलिस प्रशासनसँग छलफल गरिएको उनले बताए।
उक्त छलफलपछि खरसाङ क्षेत्रका सिण्डिकेटका गाडीहरू पुरानै स्थानबाट सञ्चालन भइरहेको पनि प्रधानले स्पष्ट पारे। उनले सर्वसाधारणलाई कुनै पनि अफवाहमा नपरी पुरानै स्थानमा आएर गाडी चढ्न आग्रह गरे।
यस समस्याको समाधानका लागि सहयोग गरेको भन्दै प्रधानले खरसाङ ट्राफिक पुलिस प्रभारी विकास चामलिङ, खरसाङ टाउन पुलिस आउटपोस्टका बडाबाबु सागर प्रधानलगायत पुलिस प्रशासनका अन्य अधिकारीहरूप्रति आभार व्यक्त गरे।
साथै, खरसाङ बजारका सबै सिण्डिकेटका गाडीहरू पुरानै स्थानबाट सञ्चालन भइरहेको जनाउँदै उनले यात्रुहरूलाई कुनै अन्योलमा नपरी पहिले गाडी चढ्दै आएको स्थानबाटै यात्रा गर्न अनुरोध गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक