
पाकिम, 28 अक्टोबर (हि.स.)। पाकिम जिल्लाको नाथाङ भ्यालीमा आज पहिलोपटक सिक्किम हिमाली याक महोत्सव आयोजना गरियो। महोत्सव आयोजना पशुपालन तथा पशुचिकित्सा सेवा विभागले अशोका ट्रस्ट फर रिसर्च इन इकोलोजी एन्ड द इन्भाइरोन्मेन्ट, सिक्किम इन्स्पायर्स तथा जीबी पन्त राष्ट्रिय हिमाली पर्यावरण संस्थानसँगको सहकार्यमा गरेको थियो।
कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा मुख्य अतिथिका रूपमा उपस्थित थिए। यसैगरी, पशुपालन तथा पशुचिकित्सा सेवा र मत्स्य विभागका मन्त्री पुरणकुमार गुरुङ, वन तथा वातावरण, खानी तथा भूविज्ञान र विज्ञान तथा प्रविधि विभागका मन्त्री पिन्चो नामग्याल लेप्चा, सामाजिक कल्याण, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागका मन्त्री साम्डुप लेप्चा, विधायक इरुङ तेन्जिङ लेप्चा, विधायक पामिन लेप्चा, विधायक प्रधान तथा विधायक सोनाम छिरिङ भेन्चुङ्पाको पनि उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि शेर्पाले हिमाली क्षेत्रमा याकको सांस्कृतिक तथा परम्परागत महत्त्वमाथि प्रकाश पार्दै यसको घट्दो सङ्ख्याप्रति चिन्ता व्यक्त गरे। उनले याकलाई राज्यको सांस्कृतिक सम्पदाको अभिन्न अङ्गका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। यसका लागि पर्यटन विकास, स्थानीय व्यवसायलाई सहयोग तथा परम्परागत पोसाकलगायत याकबाट निर्मित वस्तुहरूको उत्पादन र बजार प्रवर्द्धन गर्न आवश्यक पहल गर्नुपर्ने सुझाउ दिए।
उनले याकको सङ्ख्यासँगै याकपालकहरूको सङ्ख्या पनि घट्दै गइरहेको उल्लेख गर्दै याकपालन, जीविकोपार्जन र संरक्षणबीच दिगो सन्तुलन कायम गर्न यी चुनौतीहरूको संयुक्त रूपमा समाधान गर्नुपर्ने बताए। साथै, स्थानीय याक जातिको संरक्षण र परम्परागत याकपालन पद्धतिको निरन्तरताका लागि सामूहिक प्रयास गर्न आह्वान गरे।
पशुपालन तथा पशुचिकित्सा सेवा र मत्स्य विभागका मन्त्री पुरणकुमार गुरुङले महोत्सवको सफल आयोजनाका लागि आयोजक तथा सहभागीहरूलाई बधाई दिँदै याक संरक्षणका लागि विभागले अघि बढाएका विभिन्न पहलहरूको जानकारी दिए। उनले उपयुक्त प्रविधि र सुधारिएका अभ्यास अपनाएर याक संरक्षणलाई प्रोत्साहन गर्ने कार्य भइरहेको उल्लेख गर्दै राज्यमा याकपालनलाई सुदृढ बनाउन र संरक्षणका प्रयासलाई थप प्रभावकारी बनाउन विभाग प्रतिबद्ध रहेको बताए।
यसैगरी, विधायक पामिन लेप्चाले याकको सांस्कृतिक तथा पर्यावरणीय महत्त्वमाथि प्रकाश पारिन्। उनले याकलाई हिमाली क्षेत्रको परम्परागत पशु तथा गौरवको प्रतीकका रूपमा वर्णन गर्दै हिमाली समुदायको समृद्ध संस्कृति झल्काउने हिमसिंह र याक नृत्यजस्ता सांस्कृतिक पक्षहरूको चर्चा गरिन्।
उनले उच्च हिमाली क्षेत्रमा याकलाई दिगो जीविकोपार्जनको स्रोतका रूपमा विकास गर्न सकिने सम्भावनाबारे बताउँदै याकबाट उत्पादित वस्तु तथा सहउत्पादनको आर्थिक महत्त्वमाथि जोड दिइन्। पर्यटन प्रवर्द्धनका सम्भावनाहरू उल्लेख गर्दै उनले पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न याकको महत्त्वपूर्ण भूमिका रहेको बताइन्।
याकपालन क्षेत्रलाई सुदृढ बनाउन उन्नत प्रजनन पद्धतिको खोजी, कृषि अवसरको उपयोग, याकपालकहरूबीच ज्ञान तथा अनुभव आदानप्रदानका लागि छलफल कार्यक्रम आयोजना र सीमासम्बन्धी समस्याहरूको समाधान गर्नेलगायतका सुझाव पनि उनले प्रस्तुत गरिन्।
सिक्किम याक सङ्घका अध्यक्ष तथा भारतीय याक महासङ्घका सचिव थुप्देन लाचुङ्पाले याकपालक समुदायको उत्थान र सहयोगका लागि मुख्यमन्त्रीले गरेका प्रयासहरूको प्रशंसा गरे। उनले याक संरक्षण तथा याकजन्य उत्पादनको विकासमा विभिन्न संस्थाहरूले पुर्याएको योगदानको पनि सराहना गरे। महोत्सवले संरक्षणका प्रयासलाई सुदृढ बनाउनुका साथै याकपालकहरूको योगदानको पहिचान र उच्च हिमाली समुदायको दिगो जीविकोपार्जन प्रवर्द्धन गर्न सहयोग पुर्याउने विश्वास उनले व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल