पूर्वोत्तर राज्यका युवाहरूका लागि 12 दिने साहसिक शिविर शुरु, 176 जना सहभागी
पूर्वोत्तर राज्यका युवाहरूका लागि 12 दिने साहसिक शिविर शुरु, 176 जना सहभागी


गेजिङ, 28 अक्टोबर (हि.स.)। भारतका आठ पूर्वोत्तर राज्यका युवाहरूका लागि 12 दिने साहसिक शिविर तथा पदयात्रा कार्यक्रम 27 अक्टोबरदेखि गेजिङ जिल्लाको योकसममा शुरु भएको छ। भारत सरकारको युवा मामिला तथा खेलकुद मन्त्रालयको तत्त्वावधानमा सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभाग र सिक्किम पर्वतारोहण तथा साहसिक संस्थानको सहकार्यमा आयोजित यस कार्यक्रममा आठ पूर्वोत्तर राज्यबाट कुल 176 जना सहभागीले भाग लिएका छन्।

यस कार्यक्रमको उद्देश्य युवाहरूमा साहसिक खेलकुद, नेतृत्व क्षमता, शारीरिक तन्दुरुस्ती, अनुशासन र सामूहिक कार्य (टिमवर्क) लाई प्रवर्द्धन गर्नुका साथै राष्ट्रिय एकता, अन्तरराज्य सहयोग र सांस्कृतिक आदान-प्रदानलाई बढ़ावा दिनु हो।

मङ्गलवार योकसममा आयोजित उद्घाटन समारोहमा गेजिङ जिल्लाका जिल्ला अध्यक्ष डीएस लिम्बू मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा राज्य युवा विकास बोर्डका अध्यक्ष वसन्त योञ्जन, खेलकुद तथा युवा मामिला विभागकी सचिव याङ्चेन डी. तामाङ, प्रधान मुख्य अभियन्ता मिलनकुमार प्रधान, विभागका अभियन्ता तथा अधिकारीगण, ग्राम पञ्चायत सदस्य, सिक्किम पर्वतारोहण सङ्घ तथा सिक्किम पर्वतारोहण तथा साहसिक संस्थानका प्रतिनिधि र आठ पूर्वोत्तर राज्यबाट आएका अधिकारीगण, सहयोगी तथा सहभागीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको एक हिस्साका रूपमा युनेस्को विश्व सम्पदा सूचीमा समावेश कञ्चनजङ्घा राष्ट्रिय निकुञ्जभित्र पर्ने जोङ्ग्रीसम्मको पदयात्रा अभियानलाई बुधवार औपचारिक रूपमा झण्डा देखाएर शुरु गरियो। यस शुभारम्भ समारोहमा खेलकुद तथा युवा मामिला विभागका संयुक्त निर्देशक (मुख्यालय) सोनाम पाल्जर लेप्चा, सोही विभागको साहसिक शाखाका नोडल अधिकारी कुञ्जाङ ग्याछो भोटिया, कञ्चनजङ्घा राष्ट्रिय निकुञ्जका रेञ्ज अधिकारी तेञ्जिङ डब्ल्यू भोटिया तथा अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।

सहभागीहरूले जोङ्ग्रीसम्म चारदिने पदयात्रा गर्नेछन्। यस क्रममा उनीहरूले कञ्चनजङ्घा राष्ट्रिय निकुञ्जको प्राकृतिक र पारिस्थितिकीय समृद्धिबीच पदयात्रा तथा साहसिक गतिविधिहरूको प्रत्यक्ष अनुभव प्राप्त गर्नेछन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande