जिल्लामा कीटजन्य रोगविरुद्ध रोकथामका उपायहरू शुरु गरिएको छ: धीरज सुवेदी
जिल्लापालको कार्यालयमा आयाेजित बैठक


सोरेङ, 28 अक्टोबर (हि.स.)। जलवायु परिवर्तन र मानव स्वास्थ्यसम्बन्धी राष्ट्रिय कार्यक्रम (एनपीसीसीएचएच) अन्तर्गत जिल्लास्तरीय कार्यदल समिति गठन गर्न हेतु बुधवार सोरेङस्थित जिल्लापालको कार्यालयमा एक बैठक सम्पन्न भएको छ। उक्त बैठक जिल्लापाल धीरज सुवेदीको अध्यक्षतामा डाकिएको थियो।

बैठकलाई सम्बोधन गर्दै जिल्लापाल सुवेदीले विभिन्न विभागबीच समन्वय सुदृढ़ गर्न समितिमा ग्रामीण विकास विभाग र जलस्रोत विभागलाई पनि समावेश गर्नुपर्ने प्रस्ताव राखे। उनले ‘स्वच्छ पानी, स्वस्थ हामी’ अभियानमार्फत जिल्लामा कीटजन्य रोगविरुद्ध रोकथामका उपायहरू शुरु गरिएको जानकारी दिए। यस अभियानले विशेषगरी खानेपानी ट्याङ्कीहरूको सरसफाइमा जोड़ दिन्छ।

जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असरहरूलाई सम्बोधन गर्न समन्वयात्मक र सक्रिय दृष्टिकोण अपनाउनुपर्ने आवश्यकतामा जोड़ दिँदै जिल्लापाल तथा अध्यक्षले सम्बन्धित सबै विभागलाई जिल्लास्तरमा रोकथामका उपायहरू कार्यान्वयन गर्न एकजुट भएर काम गर्न निर्देशन दिए।

उनले जलवायु परिवर्तन र मानव स्वास्थ्यबीचको सम्बन्धबारे सर्वसाधारणलाई सचेत गराउन सूचना, शिक्षा तथा सञ्चार’ (आईईसी) गतिविधिहरूलाई अझ तीव्र पार्नुपर्ने विषयमा जोड़ दिए। उनले सरसफाइ, स्वच्छता, पर्यावरण संरक्षण र जलवायुअनुकूल अभ्यासहरूबारे जनचेतना जगाउन स्थानीय निकाय, स्वास्थ्यकर्मी, विद्यालय र सामुदायिक संस्थाहरूको सक्रिय सहभागिताका लागि प्रोत्साहित गरे।

बैठकको शुरुआत जिल्ला नोडल अधिकृत (एनपीसीसीएचएच) अविरल सुब्बाको प्रस्तुतिबाट भयो, जसमा उनले मानव स्वास्थ्य, वातावरण, समाज र अर्थतन्त्रमा जलवायु परिवर्तनले पार्ने प्रभावबारे प्रकाश पारे।

सदस्यहरूलाई एनपीसीसीएचएच अभियानबारे जानकारी दिँदै उनले यो कार्यक्रम फरवरी, 2019 मा भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयद्वारा स्वीकृत गरिएको अवगत गराए।

उनले यसका मुख्य उद्देश्यहरू प्रस्तुत गरे, जसमा मानव स्वास्थ्यमा जलवायु परिवर्तनका असरहरूबारे चेतना जगाउने, स्वास्थ्य सेवा केन्द्रहरूको तयारी अवस्था सुदृढ़ गर्ने, जलवायुजन्य स्वास्थ्य जोखिमहरू सम्बोधन गर्न स्वास्थ्यकर्मीहरूलाई तालिम दिने, जलवायु-संवेदनशील रोगहरूको निगरानी सुधार गर्ने र विभिन्न विभागबीच समन्वय प्रवर्द्धन गर्ने कार्यहरू समावेश छन्।

प्रस्तुतिमा जिल्लास्तरमा एनपीसीसीएचएचका गतिविधिहरूलाई समन्वय गर्न जिल्लास्तरीय कार्यदल समितिको भूमिकामाथि प्रकाश पारियो। यो समितिले स्थानीय स्वास्थ्य जोखिमहरूको पहिचान गर्न, कार्ययोजनाहरू तयार गर्न, जनचेतनामूलक गतिविधिहरू सञ्चालन गर्न र कार्यक्रमको प्रगतिको अनुगमन गर्न सहयोग पुर्‍याउँछ। समितिका सदस्यहरूको भूमिका र जिम्मेवारीबारे पनि विस्तृत रूपमा व्याख्या गरियो।

हावाको गुणस्तरका सन्दर्भमा सिक्किम राज्य प्रदूषण नियन्त्रण बोर्डको तथ्याङ्कअनुसार जिल्लामा वायु गुणवत्ता सूचकाङ्क (एक्यूआई) ‘राम्रो’ श्रेणीमा रहेको र यसलाई हरियो रङले जनाइने कुरा बैठकमा जानकारी गराइयो साथै एनपीसीसीएचएचअन्तर्गत् आईईसी (सूचना, शिक्षा तथा सञ्चार) गतिविधिहरू जिल्लाभरि सञ्चालन भइरहेको जानकारी दिइयो।

यस कार्यक्रमअन्तर्गत हेल्थ एण्ड वेलनेस सेन्टर (एचडब्ल्यूसी) हरूमा सौर्य ऊर्जा जड़ानको अवस्था मूल्याङ्कन गर्न स्थलगत अनुगमन पनि गरिएको छ। बैठकमा जिल्लामा एनपीसीसीएचएचका गतिविधिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्वास्थ्य विभाग, जिल्ला प्रशासन र अन्य सम्बन्धित विभागबीच सहकार्यको महत्त्वमा जोड़ दिइयो।

बैठकमा अतिरिक्त निर्देशक (कृषि) प्रणय गुरुङ, अतिरिक्त निर्देशक (पशुपालन तथा पशु सेवा) डा. किशोर थापा, सीडीपीओ (सोरेङ) गौरी तामाङसहित अन्यको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande