अफगान सेनाद्वारा पाकिस्तानी सैन्य शिविर र चौकीहरूमा आक्रमण
d002dae75fd46c008a6a11b0239d5769_1896830944.jpg


काबुल (अफगानिस्तान)/इस्लामाबाद (पाकिस्तान), २९ अक्टोबर (हि.स.)। अफगान सेनाले पाकिस्तानको आक्रमणको जवाफमा पाकिस्तानी सैन्य शिविर र चौकीहरूमा आक्रमण गरेको दाबी गरेको छ। इस्लामिक अमिरातको रक्षा मन्त्रालयका अनुसार, अफगान सेनाले पक्तिका प्रान्तको अंगुर अड्डा बजारनजिक रहेका पाकिस्तानी सैन्य शिविरहरूमा भीषण आक्रमण गरेको हो। उक्त कारबाही सो क्षेत्रमा पाकिस्तानी सेनाले गरेको आक्रमणको जवाफमा गरिएको मन्त्रालयले जनाएको छ।

काबुल टाइम्सको समाचारअनुसार, पाकिस्तानी सेनाले बुधबार दिउँसो करिब १ बजी अंगुर अड्डा बजार र तथाकथित डुरन्ड रेखानजिक रहेको चौकीलाई लक्षित गरी मानवरहित विमानको प्रयोगबाट चारवटा आक्रमण गरेको थियो। रक्षा मन्त्रालयको वक्तव्यअनुसार, त्यसको जवाफमा अफगान सेनाले आसपासका पाकिस्तानी सैन्य‌ शिविर र चौकीहरूलाई निशाना बनाएको थियो। उक्त कारबाहीमा कैयौँ पाकिस्तानी सैनिक मारिएको वा घाइते भएको तथा सैन्य पूर्वाधारमा ठूलो क्षति पुगेको दाबी गरिएको छ। वक्तव्यमा अफगान सेनातर्फ भने कुनै क्षति नभएको उल्लेख छ।

पाकिस्तानको समाचारपत्र द न्युजका अनुसार, पाकिस्तानको सूचना मन्त्रालयले अंगुर अड्डा सीमाक्षेत्रको घटनाबारे काबुलले गरेको दाबी अस्वीकार गरेको छ। मन्त्रालयले अफगान तालिबान सेनाले कुनै उक्साहटबिना पाकिस्तानी नागरिकमाथि गोलीबारी र मोर्टार आक्रमण गरेको आरोप लगाएको छ। उक्त घटनामा एक सर्वसाधारणको मृत्यु भएको र एउटै परिवारका पाँच जना घाइते भएको मन्त्रालयले जनाएको छ।

सुरक्षा स्रोतका अनुसार, दक्षिण वजिरिस्तानको अंगुर अड्डा क्षेत्रमा अफगान तालिबान सेनाले सर्वसाधारणमाथि गरेको भनिएको आक्रमणपछि पाकिस्तानी सेनाले जवाफी कारबाही गर्दै अफगान तालिबानका कैयौँ चौकीहरू ध्वस्त पारेको थियो। पाकिस्तानको सूचना मन्त्रालयले आफ्ना सुरक्षा बलले तत्काल, प्रभावकारी र कडा जवाफ दिएको बताएको छ। मन्त्रालयका अनुसार, उक्त कारबाहीमा अफगान सेनाका सातवटा चौकी नष्ट भएका छन्।

उल्लेखनीय छ, पक्तिका प्रान्त अफगानिस्तानको दक्षिणपूर्वी भागमा अवस्थित छ। यसको पूर्वी र दक्षिणी सीमा पाकिस्तानसँग जोडिएको छ, जसलाई डुरन्ड रेखा भनिन्छ। यो क्षेत्र पाकिस्तानको उत्तरी तथा दक्षिणी वजिरिस्तान र बलुचिस्तान प्रान्तको झोब जिल्लासँग जोडिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande