

कोकराझार (असम), 03 अक्टोबर। कोकराझार जिल्लाको गोसाई गाउँ महकुमा अन्तर्गत श्रीरामपुरमा गए शुक्रवारराती शिमुलटापु पुलिसद्वारा सञ्चालित अभियानमाा एउटा 14-चक्के ट्रकबाट प्रचुर मात्रामा सन्दिग्ध हेरोइन जफत गरेको छ। यस मामिलामा ट्रक चालक र मालिकलाई पुलिसले पक्राउ गरेको छ।
पुलिस अनुसार श्रीरामपुर चेक पोस्टमा शिमुलटापु थाना प्रभारी सञ्जीव सन्दिकेको नेतृत्वमासञ्चालित अभियानमा एनएल-07-0088 नम्बरधारी ट्रकलाई रोकेर जाँच गरियो जसावधि ट्रकमा बनाइएको गोप्य च्याम्बरबाट हेरोइनका 28 वटा प्याकेटहरू जफत गरियो।
जफत गरिएको प्रतिबन्धित पदार्थको अनुमानित बजार मूल्य करोडौँ रुपैयाँ रहेको सूत्रले बताएको छ। पुलिसले ट्रकलाई पनि जफत गरी मामिलाको जाँच शुरू गरेको छ।
पक्राउ परेका ट्रक मालिकको पहिचान मणिपुरको सेनापति निवासी शान्तिराम ढाकलको रूपमा भएको छ। ट्रक चालक उस्मान उत्तर प्रदेशको सिद्धार्थ नगरका बासिन्दा रहेको बताइएको छ। प्रारम्भिक सोधपुछमा ड्राइभरले ट्रकलाई इम्फालदेखि पश्चिम बङ्गालको गाजोलमा गइरहेको पुलिसलाई बतायो।
पुलिसले जफत गरिएको हेरोइनको श्रोत, गन्तव्य तथा तस्करीसँग सम्बन्धित अन्य मानिसहरूको बारेमा जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा