
नयाँ दिल्ली, 0३ अक्टोबर (हि.स.)। राज्यसभाका उपसभापति हरिवंशको नेतृत्वमा भारतीय संसदीय प्रतिनिधिमण्डल ५ देखि ९ अक्टोबरसम्म तान्जानियाको अरुशामा आयोजना हुने अन्तर संसदीय संघ (आईपीयू) को १५३औँ महासभा तथा त्यससँग सम्बन्धित बैठकहरूमा सहभागी हुन प्रस्थान गरेको छ।
राज्यसभा सचिवालय अनुसार, आईपीयू महासभामा विश्वभरिका सांसदहरूले ‘समावेशिता, विश्वास र सबैका लागि अवसर मार्फत सुशासनको प्रवर्द्धन तथा समुदायलाई सशक्त बनाउने’ विषयमा छलफल गर्नेछन्।
भारतीय प्रतिनिधिमण्डलमा लोकसभा सांसद अनुराग सिंह ठाकुर, अपराजिता सारंगी, सञ्जय जायसवाल, कमलजीत सहरावत, लता वानखेड़े, बिजुली कलिता मेधी तथा एन. के. प्रेमचन्द्रन र राज्यसभा सांसद डा. सस्मित पात्रा सहभागी छन्।
हरिवंशले आईपीयूको शासकीय परिषद्, आम बहस तथा आपत्कालीन विषयमा हुने बहसमा सहभागिता जनाउनेछन्। उनले आईपीयू अध्यक्ष पदका उम्मेदवारहरूसँग हुने सुनवाइमा पनि सहभागिता जनाउनेछन्।
भारतीय प्रतिनिधिमण्डलका सदस्यहरूले लोकतन्त्र तथा मानवअधिकार, शान्ति तथा अन्तरराष्ट्रिय सुरक्षा, दिगो विकास, महिलाको सहभागिता, विज्ञान तथा प्रविधि, आतंकवाद विरुद्धका उपाय, स्वास्थ्य, मानसिक स्वास्थ्य, महत्वपूर्ण खनिज, कृत्रिम बुद्धिमत्ता तथा कामको भविष्यजस्ता विषयमा छलफल गर्नेछन्।
यसका साथै समुद्री सुरक्षा, जलवायु परिवर्तन तथा पर्वतीय र समुद्री पारिस्थितिक प्रणालीको संरक्षणलगायत समसामयिक विश्वव्यापी विषयमा विभिन्न बैठक, प्यानल छलफल तथा कार्यशालाहरूमा भारतीय प्रतिनिधिमण्डलले आफ्ना धारणा राख्नेछ।
भारतीय संसदीय प्रतिनिधिमण्डलको यो सहभागिताले आईपीयूसँग भारतको निरन्तरको सहकार्य तथा संसदीय कूटनीति, बहुपक्षीय संवाद र विश्व शान्ति, विकास, लोकतन्त्र तथा समुदायको सशक्तीकरणसँग सम्बन्धित विषयमा विभिन्न संसद्बीच सहकार्यप्रति भारतको प्रतिबद्धता प्रतिबिम्बित गर्दछ।
हिन्दुस्थान समाचार / भवानी थामी