
नयाँ दिल्ली, ३० अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि गुजरातको दुईदिने भ्रमणमा रहनेछन्। यस क्रममा उनले बनासकाँठामा १४ हजार करोड रुपियाँभन्दा बढीका विकास परियोजनाको शिलान्यास, उद्घाटन तथा राष्ट्रलाई समर्पण गर्नेछन्। साथै, प्रधानमन्त्री किसान सम्मान निधि (पीएम-किसान) योजनाको २४औँ किस्ताअन्तर्गत देशभरका किसानहरूलाई करिब १९ हजार करोड रुपियाँ वितरण गर्नेछन्।
प्रधानमन्त्री कार्यालयले गुजरात भ्रमणको पूर्वसन्ध्यामा जारी गरेको वक्तव्यअनुसार, मोदीले ३० अक्टोबरमा बनासकाँठास्थित भ्रूण प्रत्यारोपण प्रविधि तथा इन-भिट्रो फर्टिलाइजेसन (ईटी-आईभीएफ) प्रयोगशाला र भारत गोवंश प्रजनन तथा अनुसन्धान केन्द्रको भ्रमण गर्नेछन्। त्यसपछि उनले विभिन्न विकास परियोजनाको शुभारम्भ गर्ने, दुईवटा रेल सेवाको झन्डा देखाएर उद्घाटन गर्ने तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
मोदीले बनासकाँठाको भिलडीमा स्थापना गरिएको भारत गोवंश प्रजनन तथा अनुसन्धान केन्द्र राष्ट्रलाई समर्पण गर्नेछन्। १२७ ऐकर क्षेत्रमा फैलिएको यस केन्द्रले गोवंशका नस्लमा सुधार, आनुवंशिक उन्नयन तथा आधुनिक प्रजनन प्रविधिलाई प्रोत्साहन गर्नेछ।
काँकरेज नस्लका गोवंशका लागि यो देशकै आफ्नो प्रकारको पहिलो केन्द्र हुनेछ। यस केन्द्रमार्फत नस्ल सुधारको गतिलाई १० देखि २० गुणासम्म बढाउने लक्ष्य राखिएको छ। प्रधानमन्त्रीले बनास डेयरीद्वारा थराद र राधनपुरमा स्थापना गरिने दुईवटा जैविक सीएनजी (बायो-सीएनजी) संयन्त्रको पनि शिलान्यास गर्नेछन्। यी संयन्त्रहरूमा प्रतिदिन क्रमशः ७५ र १०० मेट्रिक टन गोबर प्रशोधन गर्ने क्षमता हुनेछ।
मोदीले अहमदाबाद मेट्रोको दोस्रो चरणअन्तर्गत विमानस्थल र गिफ्ट सिटीसम्म विस्तार गरिने परियोजनाहरूको शिलान्यास गर्नेछन्। विमानस्थलसम्मको विस्तारित खण्ड ६ किलोमिटरभन्दा लामो हुनेछ र यसमा पाँचवटा स्टेशन रहनेछन्। त्यस्तै, गिफ्ट सिटीसम्मको विस्तारित खण्ड ३.३ किलोमिटरभन्दा लामो हुनेछ र यसमा तीनवटा स्टेशन निर्माण गरिनेछन्।
प्रधानमन्त्रीले करिब २,६०० करोड रुपियाँको लागतमा अहमदाबाद-मेहसाणा सडक (राज्य राजमार्ग-४१) लाई चार लेनबाट आठ लेनमा स्तरोन्नति गर्ने परियोजनाको पनि शिलान्यास गर्नेछन्।
यसका अतिरिक्त, उनले गुजरातमा ४,०३० वटा नयाँ बालमैत्री आँगनबाडी केन्द्रको शिलान्यास गर्नेछन् भने निर्माण सम्पन्न भएका ३६१ वटा केन्द्रको उद्घाटन गर्नेछन्। करिब ८०० करोड रुपियाँको यस पहलबाट चार लाखभन्दा बढी मानिस लाभान्वित हुने अपेक्षा गरिएको छ।
मोदीले कृषि पूर्वाधार कोषअन्तर्गत सम्पन्न भएका ५२१ वटा परियोजना राष्ट्रलाई समर्पण गर्नेछन्। यी परियोजनाहरूमा करिब ४,९५० करोड रुपियाँ खर्च गरिएको छ। यसअन्तर्गत शीतभण्डार, भण्डारण गृह, अन्न भण्डार, पोलीहाउस, हरितगृह तथा कृषि उत्पादन प्रशोधनसम्बन्धी सुविधाहरू समावेश छन्।
उनले सानादरमा आलु प्रशोधन केन्द्रको विस्तारित संरचनाको उद्घाटन गर्नुका साथै पालनपुरमा अति उच्च तापक्रममा सुरक्षित राख्नुपर्ने उत्पादनका लागि स्वचालित भण्डारण तथा निकासी प्रणालीको पनि शुभारम्भ गर्नेछन्।
प्रधानमन्त्रीले साबरमती-वाराणसी एक्सप्रेस र मेहसाणा-बेचाराजी-साबरमती मेमू रेल सेवाहरूलाई झन्डा देखाएर शुभारम्भ गर्नेछन्। पीएम-किसान योजनाको २४औँ किस्ता जारी गर्नुका साथै उनले स्वीकृत १२ वटा बागवानी समूहका स्थलगत गतिविधिहरूको पनि शुरुवात गर्नेछन्। करिब १.४६ लाख हेक्टर क्षेत्रमा फैलिएका यी समूहबाट १.३ लाखभन्दा बढी किसान लाभान्वित हुने अपेक्षा गरिएको छ। उत्तर गुजरातका दुईवटा समूह आलु उत्पादनमा केन्द्रित हुनेछन्।
मोदीले केवडियास्थित एकता नगरमा भारत पर्व २०२६ को उद्घाटन गर्नेछन्। यो कार्यक्रम १५ नोभेम्बरसम्म सञ्चालन हुनेछ। कार्यक्रममा विभिन्न राज्य तथा केन्द्रशासित प्रदेशका लोककला, परम्परागत परिकार, हस्तकला तथा पर्यटकीय स्थलहरू प्रदर्शन गरिनेछन्। प्रधानमन्त्रीले सोही साँझ एकता प्रकाश पर्वको पनि अवलोकन गर्नेछन्। यस अवसरमा देशको सांस्कृतिक विविधता र एकता झल्काउन विशेष प्रकाश तथा कलात्मक सजावटको व्यवस्था गरिनेछ।
प्रधानमन्त्रीले भोलिपल्ट ३१ अक्टोबरमा सरदार वल्लभभाई पटेलको १५१औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय एकता दिवस समारोहमा सहभागी हुनेछन् र स्ट्याच्यु अफ युनिटीमा पुष्पाञ्जली अर्पण गर्नेछन्। यस क्रममा एकता नगरमा ४०० करोड रुपियाँभन्दा बढीका विकास परियोजनाको शिलान्यास, उद्घाटन तथा राष्ट्रलाई समर्पण गरिनेछ।
यी परियोजनाहरूमा ढल तथा पानी प्रशोधन केन्द्र, नर्मदा घाटको स्तरोन्नति, भवनहरूमा प्रकाशको व्यवस्था, भारतीय रेल खानपान तथा पर्यटन निगम (आईआरसीटीसी) को होटल र वर्षावनसहितका पर्यटकीय सुविधाहरू समावेश छन्। यसका अतिरिक्त शून्य फोहोरमा आधारित ठोस फोहोर व्यवस्थापन, पर्यावरण पर्यटन तथा सडक विकाससम्बन्धी परियोजनाहरूको पनि शिलान्यास गरिनेछ।
यस वर्षको राष्ट्रिय एकता दिवसको परेडमा वामपन्थी उग्रवाद नियन्त्रणका क्रममा सुरक्षाबलले हासिल गरेका उपलब्धि तथा यसबाट प्रभावित पूर्व क्षेत्रहरूमा शान्ति, सुरक्षा र विकासका दिशामा आएको परिवर्तनलाई विशेष महत्त्व दिइनेछ।
राष्ट्रिय नाट्य विद्यालयले ‘नक्सलमुक्त भारत’ विषयमा विशेष नाट्य प्रस्तुति गर्नेछ। यसमा वामपन्थी उग्रवादबाट प्रभावित १२६ जिल्लाका करिब २,००० कलाकार सहभागी हुनेछन्।
समारोहका झाँकी तथा सांस्कृतिक प्रस्तुतिहरूको मुख्य विषय ‘वन्दे मातरम्’ रहनेछ। देशभरिबाट आएका करिब ५,००० कलाकारले भारतीय शास्त्रीय तथा लोककला, सङ्गीत, नृत्य र सांस्कृतिक सम्पदाको प्रदर्शन गर्नेछन्।
/ बिशाल