
नयाँ दिल्ली, 0५ अक्टोबर (हि.स.)। भारतको तीनदिने राजकीय भ्रमणमा आएका स्विट्जरल्यान्डका राष्ट्रपति गाइ पार्मेलिनलाई राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार बिहान राष्ट्रपति भवनमा हार्दिक स्वागत गरेका छन्। यस अवसरमा उनलाई तीनै सेनाको संयुक्त ‘गार्ड अफ अनर’ दिइयो।
विदेश मन्त्रालय अनुसार, प्रधानमन्त्री मोदीको निमन्त्रणामा उच्चस्तरीय प्रतिनिधिमण्डल सहित नयाँ दिल्ली आएका राष्ट्रपति गाइ पार्मेलिनलाई विमानस्थलमा केन्द्रिय राज्यमन्त्री अजय टम्टाले स्वागत गरे। विमानस्थलमा उनलाई औपचारिक ‘स्टेटिक गार्ड’ सम्मान समेत दिइयो।
औपचारिक स्वागतपछि राष्ट्रपति पार्मेलिनले आफ्नो भ्रमण दुई देशबीचको सम्बन्धलाई थप सुदृढ़ बनाउन र “आगामी प्रगतिका लागि अत्यन्त महत्वपूर्ण कदम” भएको बताएका छन्। भारत र युरोपेली स्वतन्त्र व्यापार संघ (ईएफटीए) बीच भएको ऐतिहासिक व्यापार सम्झौताको पहिलो वार्षिकोत्सवको अवसरमा उनको भारत भ्रमण भइरहेको हो। वार्ताका क्रममा दुवै देशका शीर्ष नेताहरूले द्विपक्षीय व्यापार, लगानी, विज्ञान, नवप्रवर्तन तथा प्रमुख विश्वव्यापी मुद्दामा भएको प्रगतिको समीक्षा गर्नेछन्।
भ्रमणको दोस्रो दिन मंगलवार स्विट्जरल्यान्डका राष्ट्रपति नोएडा अन्तरराष्ट्रिय विमानस्थल (जेवर) को भ्रमण गर्नेछन्। उक्त विमानस्थलको विकासमा स्विट्जरल्यान्डका कम्पनी तथा प्रविधिको महत्वपूर्ण सहभागिता रहेको छ। यस भ्रमण मार्फत दुवै देशबीच पूर्वाधार तथा आधुनिक प्रविधिको क्षेत्रमा रहेको साझेदारीलाई थप सुदृढ़ बनाउनेमा जोड दिइनेछ।
विदेश मन्त्रालय अनुसार, औपचारिक स्वागतले भारत र स्विट्जरल्यान्डबीचको आत्मीयता तथा लामो समयदेखि कायम रहेको मित्रतालाई प्रतिबिम्बित गर्दछ।
हिन्दुस्थान समाचार / भवानी थामी