

गुवाहाटी, ०६ अक्टोबर (हि.स.)। असम र मणिपुरमा मंगलबार बिहान दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ। तीमध्ये सबैभन्दा शक्तिशाली ४.५ म्याग्निच्युडको भूकम्प असमको नगाउँ जिल्लामा गयो, जसको कम्पन असमका विभिन्न क्षेत्र तथा गुवाहाटीसम्म महसुस गरियो। यद्यपि, दुवै घटनामा कुनै मानवीय वा भौतिक क्षतिको खबर प्राप्त भएको छैन।
सिस्मोलोजी विभागका अनुसार, पहिलो प्रमुख भूकम्प आज बिहान ४ बजेर २३ मिनेट ४७ सेकेन्डमा असमको नगाउँ जिल्लामा गएको थियो। यसको तीव्रता रिक्टर स्केलमा ४.५ मापन गरिएको छ। भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट ३३ किलोमिटर गहिराइमा २६.४२८ अक्षांश र ९३.०६० देशान्तरमा रहेको थियो।
यसैक्रममा दोस्रो भूकम्प मणिपुरको तामेङलङ जिल्लामा बिहान ४ बजेर २७ मिनेट २५ सेकेन्डमा रेकर्ड गरिएको थियो। यसको तीव्रता रिक्टर स्केलमा २.९ मापन गरिएको छ। भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट १२ किलोमिटर गहिराइमा २५.०७० अक्षांश र ९३.५६८ देशान्तरमा अवस्थित थियो। कम तीव्रताको भएकाले यसको प्रभाव सीमित रहेको जनाइएको छ।
भूकम्पविद्हरूका अनुसार, भारतको पूर्वोत्तर क्षेत्र भूकम्पीय दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। यस कारण यहाँ समय-समयमा हल्का तथा मध्यम तीव्रताका भूकम्पहरू आइरहन्छन्। प्रशासनले नागरिकहरूलाई सतर्क रहन तथा कुनै पनि आपत्कालीन अवस्थामा आधिकारिक सूचनामाथि मात्र विश्वास गर्न आग्रह गरेको छ।
/ बिशाल