
गान्तोक, 08 अक्टोबर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको केन्द्रिय कार्यकारिणी परिषद्को महत्त्वपूर्ण सभा पार्टीको मुख्य कार्यालयमा पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ।
तीन महिनाको अन्तरालमा नियमित रूपमा आयोजना हुँदै आएको केन्द्रिय कार्यकारिणी समितिको उक्त महत्त्वपूर्ण सभामा पार्टीका विभिन्न फ्रन्टल काउन्सिलहरूले आ-आफ्ना गतिविधि तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
सभामा समयसापेक्ष राजनीति, आम नागरिकका अधिकारको संरक्षण, सकारात्मक व्यवस्था परिवर्तन, युवाहरूलाई अवसरको सिर्जना तथा राज्यको गरिमा र प्रतिष्ठा अभिवृद्धि गर्ने उद्देश्यसहितको राजनीति गर्नु नै सीएपीको मुख्य ध्येय रहेको विषयमा उपस्थित सदस्यहरूले गहन छलफल तथा बहस गरेका थिए। सभामा पार्टीका अधिकांश केन्द्रिय कार्यकारिणी परिषद्का सदस्यहरूको उपस्थिति रहेको थियो।
सिक्किमको वर्तमान र भविष्यलाई सुरक्षित तथा समृद्ध बनाउन विभिन्न महत्त्वपूर्ण प्रस्ताव सर्वसम्मतिले पारित गर्दै सिक्किमका हित र संरक्षणका लागि एकबद्ध भएर कार्य गर्न राईले सम्पूर्ण पार्टीपङ्क्तिलाई आह्वान गरेको सीएपीको प्रचार-प्रसार परिषद्का महासचिव जिग्मी डी भोटियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सङ्गठन महासचिव प्रकाश पराजुलीले सञ्चालन गरेको उक्त सभामा पार्टीका प्रवक्ता महेश राईले स्वागत मन्तव्य राखेका थिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल