जनगणना 2027 को दोस्रो चरणको तयारीबारे समीक्षा गर्न राज्यस्तरीय बैठक सम्पन्न
बैठकको फोटो


गान्तोक, 08 अक्टोबर (हि.स.)। सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङको अध्यक्षतामा आज टाशीलिङ सचिवालयमा जनगणना 2027 को दोस्रो चरणको तयारीबारे समीक्षा गर्न राज्यस्तरीय बैठक सम्पन्न भयो।

बैठकमा गृह विभागका सचिव तेञ्जिङ टी काल्योन, सिक्किमका जनगणना सञ्चालन निर्देशक कर्मा आर बोन्पो, विभिन्न विभागका प्रमुख, छवटै जिल्लाका जिल्लापाल, अतिरिक्त जिल्लापाल, महकुमा अधिकारी, मुख्य जनगणना अधिकारी तथा जनगणना निर्देशनालय र अन्य विभागका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

बैठकमा भारतको पहिलो पूर्ण डिजिटल जनगणनाको तयारीबारे समीक्षा गरियो, जुन शतप्रतिशत कभरेजमा जोड़ दिँदै मोबाइल एप्लिकेसनमार्फत सञ्चालन गरिनेछ। यसपटकको प्रश्नावली, विशेषगरी बसाइँसराइ र आर्थिक गतिविधिका सन्दर्भमा अझ विस्तृत बनाइएको छ।

बैठकमा जनशक्ति, तालिम, सूचना प्रविधि पूर्वाधार, स्थलगतस्तरको समन्वय, तथ्याङ्क सङ्कलन, प्रमाणीकरण र जनचेतनाजस्ता विषयहरूमा केन्द्रित रही छलफल गरियो।

बैठकलाई सम्बोधन गर्दै मुख्य सचिवले जिल्लापालहरूलाई शहरी क्षेत्रका लागि उचित योजना, पर्याप्त तालिमको व्यवस्था, नजिकको निगरानी र सघन जनचेतना अभियान सुनिश्चित गर्न निर्देशन दिए। उनले सरकारी नीति तथा योजनाहरूको आधार जनगणनाको तथ्याङ्क नै हुने कुरामा जोड़ दिँदै तथ्याङ्कको शुद्धता र गुणस्तरमा उच्च मापदण्ड कायम गर्न आह्वान गरे।

उनले जिल्लापालहरूको प्रभावकारी निगरानीमार्फत उच्च गुणस्तरको तथ्याङ्क सुनिश्चित गर्न जिल्ला प्रशासनको महत्त्वपूर्ण भूमिका रहने कुरामा जोड़ दिए साथै उनले शहरी क्षेत्रका लागि आवश्यक थप जनशक्तिको मागलाई प्राथमिकताका साथ हेरिने आश्वासन पनि दिए।

मुख्य सचिवले गणनाकर्ता र पर्यवेक्षकहरूका लागि विस्तृत तालिमको महत्त्वमा जोड़ दिँदै जनगणना कार्यको सफलता अन्ततः स्थलगतस्तरको प्रभावकारी कार्यान्वयनमा निर्भर रहने बताए।

बैठकमा गाउँ तथा ग्राम पञ्चायत एकाइ र गान्तोक नगर निगमस्तरमा सही तथ्याङ्क सङ्कलन, पहिचान र प्रमाणीकरणमा पनि जोड़ दिइयो। जनगणना कार्यको निष्पक्षता कायम राख्न निर्वाचित प्रतिनिधि र राजनीतिक पदाधिकारीहरूलाई तथ्याङ्क सङ्कलन वा प्रमाणीकरण प्रक्रियामा संलग्न गराइने छैन भन्ने कुरा स्पष्ट पारियो। तथ्याङ्कको अन्तिम स्वीकृति र प्रमाणीकरणको कार्य जनगणना कार्यालयद्वारा गरिनेछ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande