
इम्फाल, ०8 अक्टोबर (हि.स.)। मणिपुरमा पुलिस एवं केन्द्रिय सुरक्षा बलहरूको संयुक्त कारबाहीमा मादक पदार्थको तस्कर र उग्रवादी कार्यकर्ताहरूलाई पक्राउ गरिनको साथै प्रचुर मात्रामा हतियार, गोलाबारुद र विस्फोटक जफत गरिएको छ। पछिल्लो 24 घण्टाभित्रमा राज्यका विभिन्न भागहरूमा सञ्चालित अभियान अन्तर्गत सो कारबाही गरिएको हो।
मणिपुर पुलिस मुख्यालयले बुधबार जारी गरेको आधिकारिक जानकारी अनुसार चुराचाँदपुर पुलिस थानाको टीमले मिसओ ल्हावोम गाउँबाट नगामखोजङ्ग किपजेन (35)- लाई पक्राउ गऱ्यो जो चुराचाँदपुरको तुइदम गाउँका बासिन्दा जाङ्गमाङ्ग किपगेनका छोरा हुन् भने वर्तमानमा तिनी ल्हाङ्गनेम गाउँमा बस्दै आएका थिए। तिनीबाट 60 वटा साबुनदानीमा लुकाएर राखिएको 785 ग्राम संदिग्ध ब्राउन शुगर र एउटा पल्सर बाइक जफत गरियो।
सोही दिन अर्को अभियानमा विशेष सूचनाको आधारमा, वाङ्गोई थानाको पुलिस र केन्द्रिय सुरक्षा बलको संयुक्त टोलीले वाङ्गोई पुलिस थाना अन्तर्गत वैशेन नदीको किनारमा खोजी अभियान चलायो। खोजीको क्रममा म्यागजिन सहित एउटा एसएलआर राइफल (7.62 एमएम), एउटा एसबीबीएल, विभिन्न प्रकारका 09 वटा जीवित कारतूस र तीनवटा वायरलेस सेटहरू जफत गरियो।
त्यसैगरी गए बुधबार मात्रै सीडीओ/विष्णुपुरको टोलीले क्वाक्ता खुमान अवाङ्ग लिकाईबाट उग्रवादी सङ्गठन यूएनएलएफ (पी)-का सक्रिय क्याडर मो. करिमुद्दिन शाह उपनाम रफी (48) लाई पक्राउ गऱ्यो। तिनी सन् 2025 मा क्वाक्ता टेराखोङ्शाङ्बीमा भएको ग्रेनेड आक्रमणमा संलग्न थिए। तिनीबाट एउटा होण़्डा एक्टिभा (एमएन-01डी-2639) र एउटा मोबाइल फोन जफत गरियो।
गत 6 अक्टोबरमा इम्फाल पूर्वी जिल्ला पुलिस एवं केन्द्रिय सुरक्षा बलको संयुक्त टोलीले सगोलमाङ्ग पुलिस थाना अन्तर्गत वाकन हिल रेञ्जमा खोजी अभियान सञ्चालन गरी पहाड़को फेदमा लुकाएर राखिएको पुलिसबाट लुटिएको संदिग्ध हतियार, गोलाबारुद र विस्फोटकहरूको विशाल भण्डार जफत गरियो। जफत गरिएका वस्तुहरूमा मुख्यतया एउटा एसएलआर, एउटा देशमै निर्मित एके-47 र एउटा देशमै निर्मित एमपी-5, चारवटा देशमा निर्मित कार्बाइन र 02 वटा पिस्तौल, चारवटा देशमा निर्मित 12 बोरको एकल ब्यारेल बन्दुक, विभिन्न क्यालिबरका 25 वटा जीवित कारतुस, डेटोनेटर सहित एउटा नम्बर 36 एचई ग्रेनेड अनि एउटा खण्डित ग्रेनेड, तीनवटा मोर्टर शेल तथा एउटा खाली मोर्टर शेल, रेडियो सेट चार्जर, एसएलआर बायोनेट, फ्लेयर राउण्ड, हेलमेट, ज्याकेट र बुटहरू सामेल छन्।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा