
नयाँ दिल्ली, 08 अक्टोबर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु, लोकसभा अध्यक्ष ओम बिरला तथा रक्षामन्त्री राजनाथ सिंहसहित विभिन्न नेताहरूले बिहीबार बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति मुर्मुले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेकी छन्, “दिग्गज अभिनेता नाना पाटेकरको निधनबाट गहिरो दुःख लागेको छ। आफ्नो प्रभावशाली र हृदयस्पर्शी अभिनयमार्फत उनले मानवीय अनुभवको विस्तृत श्रृंखलालाई जीवन्त बनाएका थिए। उनले यस्ता पात्रहरू निर्वाह गरे, जसले मानिसहरूको मन र मस्तिष्कमा गहिरो छाप छाडे। समाज सेवाप्रतिको उनको समर्पणले वञ्चित वर्गप्रतिको उनको चिन्ता प्रतिबिम्बित गर्दथ्यो। उनको निधन भारतीय चलचित्र क्षेत्रका लागि ठूलो क्षति हो। म उनका परिवार तथा प्रशंसकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु।”
लोकसभा अध्यक्ष ओम बिरलाले अभिनय नाना पाटेकरका लागि केवल पात्र निर्वाह गर्नु नभई त्यसलाई पूर्ण समर्पणका साथ जिउनु रहेको बताए। उनको प्रभावशाली आवाज, संवाद प्रस्तुत गर्ने शैली तथा अनुहारका भावले हरेक भूमिकामा जीवन भर्ने गरेको उनले उल्लेख गरे। गम्भीर र संवेदनशील भूमिकादेखि हास्यप्रधान भूमिकासम्म उनले प्रत्येक पात्रलाई आफ्नो विशेष पहिचान दिएको बताउँदै बिरलाले उनको सशक्त अभिनय र चलचित्र क्षेत्रमा दिएको योगदान सदैव स्मरण गरिने बताए। उनको निधन चलचित्र क्षेत्रका लागि अपूरणीय क्षति भएको उल्लेख गर्दै उनले दिवंगत आत्माको शान्तिको कामना गरेका छन्।
रक्षामन्त्री राजनाथ सिंहले नाना पाटेकर केवल अभिनेता नभई आफ्नै रूपमा एउटा संस्था रहेको बताए। ‘अंकुश’, ‘प्रहार’ र ‘क्रान्तिवीर’ जस्ता चलचित्रमा उनले प्रस्तुत गरेको गम्भीरताले प्रत्येक पात्रलाई अविस्मरणीय बनाएको सिंहले बताए। उनको आवाज, उपस्थिति तथा विभिन्न प्रकारका भूमिकामा आफूलाई ढाल्न सक्ने क्षमताले उनलाई वास्तवमै अद्वितीय बनाएको उल्लेख गर्दै उनले भारतीय चलचित्रमा नाना पाटेकरको उल्लेखनीय योगदानले पुस्तौँसम्म प्रेरित गरिरहने बताए।
केन्द्रिय गृहमन्त्री तथा सहकारितामन्त्री अमित शाहले पाँच दशकसम्म नाना पाटेकरले आफ्नो सहज अभिनय र प्रभावशाली संवाद प्रस्तुतिमार्फत दर्शकहरूको मनमा अमिट छाप छाडेको बताए। गम्भीर सामाजिक विषय हुन् वा हास्य-व्यङ्ग्य, उनले निर्वाह गरेका प्रत्येक पात्रलाई जीवन्त बनाएको शाहले उल्लेख गरे। ‘नाम फाउन्डेसन’ मार्फत खडेरीबाट प्रभावित किसान परिवारहरूको सेवा गर्नुका साथै सीमामा पुगेर जवानहरूको हौसला बढाउने कार्य गर्दै उनी प्रसिद्धिको शिखरमा पुगे पनि आफ्नो माटोसँग जोडिइरहेको शाहले बताए। नाना पाटेकरको सरलता र स्पष्टवादिताले आफूलाई सधैँ प्रभावित गरेको उल्लेख गर्दै उनले शोकसन्तप्त परिवार तथा प्रशंसकहरूलाई दुःख सहने शक्ति मिलोस् भन्ने कामना गरे।
केन्द्रिय कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले नाना पाटेकरको आवाज, बोल्ने शैली र अनुहारका भाव सीधै हृदयसम्म पुग्ने गरेको बताए। ‘क्रान्तिवीर’ र ‘परिन्दा’ जस्ता चलचित्रमा गम्भीर भूमिकाबाट दर्शकलाई झकझक्याउने तथा ‘वेलकम’ मा उदय शेट्टीको भूमिकामा हास्य प्रदान गर्ने नाना पाटेकरमा गहिराइ र हास्य–विनोद दुवै रहेको चौहानले बताए। उनका चलचित्र र पात्रहरू लामो समयसम्म सबैको स्मृतिमा रहने उनले उल्लेख गरे।
भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले सहज र प्रभावशाली अभिनयमार्फत नाना पाटेकरले हिन्दी तथा मराठी चलचित्रमा यस्तो छाप छाडेको बताए, जसमा प्रत्येक पात्रले आफ्नो अलग पहिचानसहित दर्शकहरूको मनमा स्थान बनाएको थियो। उनको अभिनयले आगामी पुस्ताका चलचित्रप्रेमीहरूलाई पनि उनको स्मरण गराइरहने उनले बताए।
कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खरगेले भारतीय चलचित्रमा नाना पाटेकरको उत्कृष्ट अभिनय, उनको व्यापक तथा बहुआयामिक योगदान र किसान तथा वञ्चित वर्गप्रतिको संवेदनशीलतालाई सदैव स्मरण गरिने बताए।
हिन्दुस्थान समाचार / भवानी थामी