
याङगाङ, 09 अक्टोबर (हि.स.)। आगामी २९ देखि ३१ अक्टोबरसम्म आयोजना हुने ब्लुमिङ याङगाङ २०२६ को तयारीलाई लिएर आज याङगाङस्थित एसडीएम कार्यालयमा अन्तिम समन्वय बैठक सम्पन्न भयो। बैठक राङगाङ याङगाङ निर्वाचन क्षेत्रकी विधायक एवं सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापाको अध्यक्षतामा बसेको थियो।
बैठकमा खाद्य प्रशोधन विभागका सल्लाहकार सीएल गुरुङ, याङगाङका एसडीएम केएल दाहाल, खण्ड विकास अधिकारी निडे भोटिया, जिल्ला पञ्चायत सदस्य केडी काफ्ले, विभिन्न विभागका प्रमुख एवं अधिकारीहरू, एसकेएम पार्टीका कार्यकर्ताहरू र वाईटीडीसीका सदस्यहरूको उपस्थिति रहेको थियो।
बैठकमा तीनदिने कार्यक्रमका लागि भइरहेका तयारी, विभिन्न विभागको सहभागिता, आपसी समन्वय तथा निर्धारित गतिविधिहरूको प्रगतिबारे विस्तृत समीक्षा गरियो। यस क्रममा पुष्पखेती तथा प्रस्तावित फूल प्रदर्शनी एवं बिक्री कार्यक्रमबारे छलफल गर्दै फूल उत्पादकहरू र बागवानी विभागको सहभागिताबारे समीक्षा गरियो।
त्यसैगरी, खाद्य प्रशोधन उद्योगहरूको सहभागिता, स्थानीय उत्पादनको प्रदर्शनी, उद्यमशीलतालाई प्रोत्साहन तथा क्षेत्रको कृषि र बागवानी सम्भावनालाई प्रवर्द्धन गर्ने उपायहरूबारे पनि छलफल गरियो।
बैठकमा सांस्कृतिक कार्यक्रम, पूर्वाधार तथा व्यवस्थापकीय तयारी, यातायात व्यवस्थापन, सुरक्षा, स्वास्थ्य सेवा, सरसफाई, प्रचारप्रसार, ब्रान्डिङ, प्रायोजन तथा आर्थिक सहयोगसम्बन्धी व्यवस्थाहरूको समेत समीक्षा गरिएको थियो। कार्यक्रमलाई प्रभावकारी रूपमा सम्पन्न गर्न सम्बन्धित सबै विभाग तथा सरोकारवालाको सक्रिय सहभागिता र आपसी समन्वयमा जोड दिइयो।
बैठककी अध्यक्ष राजकुमारी थापाले सबै तयारी निर्धारित समयभित्र पूरा गर्न तथा विभिन्न विभागबीच उचित समन्वय कायम राख्नुपर्नेमा जोड दिइन्। उनले बाँकी रहेका कामहरूको समीक्षा गर्दै कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन निर्धारित समयसीमाभित्र सबै कार्य सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याइन्।
ब्लुमिङ याङगाङ २०२६ ले स्थानीय पुष्पखेती, बागवानीजन्य उत्पादन, खाद्य प्रशोधन उद्योग, सांस्कृतिक सम्पदा तथा सामुदायिक सहभागितालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। यसका साथै याङगाङलाई पर्यटन, स्थानीय उद्यम तथा दिगो सामुदायिक विकासको उदीयमान गन्तव्यका रूपमा स्थापित गर्न पनि यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल