
सोरेङ, 09 अक्टोबर (हि.स.)। सोरेङ नगर पञ्चायतका लागि तय गरिएका विकासमूलक पहलहरूबारे शुक्रवार जिल्ला प्रशासनिक केन्द्रमा गहन छलफल गरियो। सिक्किम एकीकृत शहरी विकास परियोजना (एसआईयूडीपी) का प्रतिनिधिहरूले प्रस्तावित पूर्वाधार तथा निर्माण योजनाहरूको विवरण प्रस्तुत गर्दै जानकारी गराए।
सिक्किम एकीकृत शहरी विकास परियोजना सिक्किम सरकारको सात वर्षे प्रमुख शहरी विकास पहल हो, जुन एशियाली विकास ब्याङ्क (एडीबी) को आर्थिक तथा प्राविधिक सहयोगमा शहरी विकास विभागद्वारा सन् 2025 देखि 2032 सम्म कार्यान्वयन गरिनेछ।
सोरेङका जिल्लापाल धीरज सुवेदी, परियोजना निर्देशक (एसआईयूडीपी) भूपेन्द्र कुठारी र अन्य सरोकारवालाहरूको उपस्थितिमा सोरेङ-च्याखुङका विधायक आदित्य गोलेको अध्यक्षतामा उक्त बैठक सम्पन्न भयो। नवगठित शहरी स्थानीय निकाय (यूएलबी) का रूपमा आवश्यक पूर्वाधार तथा उदीयमान प्रशासनिक केन्द्रका रूपमा यसको भूमिकालाई सुदृढ़ पार्ने विषयमा छलफल गरियो। यो पहल जिल्लाको विकास प्रक्रियाका आवश्यकताहरू सम्बोधन गर्ने दिशामा एउटा महत्त्वपूर्ण कदम पनि हो।
कार्यक्रममा योजनाबद्ध शहरी विकास, समन्वयात्मक कार्यान्वयन र सोरेङका बद्लिँदो आवश्यकताहरूलाई सम्बोधन गर्ने रणनीतिक लगानीको महत्त्वमाथि प्रकाश पारियो। शहर उदीयमान शहरी केन्द्रका रूपमा विस्तार हुँदै जाँदा आवश्यक पूर्वाधार सुदृढ़ गर्ने, शहरी सेवाहरूमा सुधार गर्ने र बासिन्दाहरूको जीवनस्तर उकास्ने आवश्यकतामाथि छलफलमा जोड़ दिइयो।
सिक्किम एकीकृत शहरी विकास परियोजना (एसआईयूडीपी) मार्फत योजनाबद्ध प्रयासहरूले महत्त्वपूर्ण पूर्वाधारको अभावलाई सम्बोधन गर्ने र सोरेङको भविष्यको विकासका लागि बलियो आधार खड़ा गर्ने लक्ष्य राखेका छन्। यी पहलहरूले स्वच्छ, स्वस्थ र सुलभ शहरी वातावरण प्रवर्द्धन गर्नुका साथै अत्यावश्यक सेवा प्रदान गर्न र शहरी विकासलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न शहरी स्थानीय निकाय (यूएलबी) को क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
यस परियोजनाअन्तर्गत एउटा मुख्य पहल सोरेङमा प्रस्तावित ‘ट्राञ्जिट हब-कम-कम्युनिटी कम्प्लेक्स’ (टीएचसीसी) हो, जसलाई सार्वजनिक यातायात पूर्वाधार, व्यवस्थित पार्किङ, कार्यालय कक्ष र सामुदायिक सुविधाहरू समेटिएको एकीकृत संरचनाका रूपमा परिकल्पना गरिएको छ। भवनको भुइँतलामा 10 वटा बस पार्किङ स्थलका साथै यात्रु प्रतिक्षालय, चालक विश्राम कक्ष, एसएनटी कार्यालय, शौचालय, सिँढ़ी र लिफ्टहरूको व्यवस्था गरिनेछ, जसले यात्रुहरूको सुविधा बढ़ाउनुका साथै सार्वजनिक यातायात व्यवस्थापनमा सुधार ल्याउनेछ। माथिल्लो तलाहरूमा चारचक्के सवारी साधनका लागि छुट्टै पार्किङ सुविधा उपलब्ध गराइनेछ, जसले शहरको पार्किङ आवश्यकता पूरा गर्न र सड़कको छेउमा गरिने पार्किङका कारण हुने ट्राफिक जाम कम गर्न मद्दत गर्नेछ। यस परिसरमा कार्यालय कक्ष, खुद्रा पसल, ब्याङक्वेट हल, खेलकुद हल र सामुदायिक हल पनि रहनेछन्, जसले व्यावसायिक गतिविधि र सामुदायिक सहभागिताका लागि आवश्यक सुविधाहरू प्रदान गर्नेछन्। यो एकीकृत विकास परियोजनाले आवत-जावतमा सुधार ल्याउने, शहरी स्थानको अधिकतम सदुपयोग गर्ने तथा शहरलाई थप व्यवस्थित र पहुँचयोग्य बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सोरेङमा प्रस्तावित ढल प्रशोधन केन्द्र (एसटीपी)-लाई पनि शहरको सरसफाइ पूर्वाधारको एक महत्त्वपूर्ण अङ्गका रूपमा विशेष जोड़ दिइएको छ। यस सुविधाले फोहोर पानीको वैज्ञानिक रूपमा प्रशोधन गर्न, पर्यावरणीय प्रदूषण कम गर्न तथा स्थानीय जलस्रोत र वरिपरिको पारिस्थितिक प्रणालीको संरक्षण गर्न मद्दत गर्नेछ, जसबाट जनस्वास्थ्यमा सुधार र पर्यावरणीय दिगोपन कायम गर्न योगदान पुग्नेछ।
यी पहलहरूले विकसित, समावेशी र समृद्ध सिक्किम निर्माण गर्ने मुख्यमन्त्री पीएस गोलेको दूरदृष्टिलाई प्रतिविम्बित गर्दछन्। योजनाबद्ध पूर्वाधार र सुधारिएको सार्वजनिक सेवामार्फत फस्टाउँदै गएका शहरहरूलाई सुदृढ़ बनाउनु सन्तुलित क्षेत्रीय विकासलाई बढ़ावा दिन, मुख्य शहरी केन्द्रहरूभन्दा बाहिर अवसरहरूको विस्तार गर्न र राज्यको समग्र प्रगतिबाट समुदायहरू लाभान्वित हुने सुनिश्चित गर्न अत्यावश्यक छ। यस सन्दर्भमा, सोरेङमा एसआईयूडीपीका कार्यक्रमहरू ‘विकसित सिक्किम’-को बृहत् दृष्टिकोण साकार पार्ने दिशामा एउटा महत्त्वपूर्ण कदम हुन्।
सोरेङमा एसआईयूडीपीको कार्यान्वयनले शहरी विकास विभाग, एसआईयूडीपी टोली, जिल्ला प्रशासन, स्थानीय शहरी निकाय (यूएलबी) र अन्य सम्बन्धित निकायबीचको घनिष्ठ समन्वयको महत्त्वलाई पनि उजागर गर्दछ।
प्रस्तावित ट्राञ्जिट हब तथा सामुदायिक परिसर, ढल प्रशोधन केन्द्र र एसआईयूडीपीअन्तर्गत अन्य योजनाबद्ध कार्यक्रमहरूले संयुक्त रूपमा सोरेङको शहरी पूर्वाधारलाई सुदृढ़ बनाउने, आवश्यक सेवाहरूमा सुधार गर्ने तथा यसलाई सफा, व्यवस्थित र बसोबासका लागि अझ उपयुक्त शहरका रूपमा विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल