डा. हरिभक्त शर्मा लगातार तेस्रो वर्ष विश्वका शीर्ष दुई प्रतिशत वैज्ञानिकहरूको सूचीमा
डा. हरिभक्त शर्मा


गान्तोक, 09 अक्टोबर (हि.स.)। सिक्किम मणिपाल विश्वविद्यालयको सिक्किम मणिपाल प्रौद्योगिकी संस्था (एसएमआईटी) मा सिभिल तथा पर्यावरणीय अभियान्त्रिकीका सहायक प्राध्यापक डा. हरिभक्त शर्मा (लुइँटेल) स्ट्यानफोर्ड विश्वविद्यालय र एल्सेभियरको सहकार्यमा प्रकाशित विश्वका शीर्ष दुई प्रतिशत वैज्ञानिकको सूचीको संस्करणमा निरन्तर तेस्रो वर्ष समावेश भएका छन्।

पश्चिम सिक्किमको गेजिङ-बर्मेक निर्वाचन क्षेत्रअन्तर्गत मध्य मार्तामका बासिन्दा डा. शर्मा यसअघि 2024 र 2025 का संस्करणहरूमा पनि सूचीकृत भइसकेका छन्। उनी यसरी निरन्तर समावेश हुनु सिक्किमको वैज्ञानिक तथा शैक्षिक समुदायका लागि एक महत्त्वपूर्ण उपलब्धि हो। यो विश्वव्यापी वरीयताले 22 वटा वैज्ञानिक क्षेत्र र 174 उपक्षेत्रमा प्रभावशाली अनुसन्धानकर्ताहरूको पहिचान गर्न एल्सेभियरको स्कोपस’ डाटाबेसबाट अनुसन्धान र साइटेसन (उद्धरण) सम्बन्धी तथ्याङ्कको प्रयोग गर्दछ।

आईआईटी खड्गपुरबाट विद्यावारिधि गरेका डा. शर्माको अनुसन्धान ठोस फोहोर तथा प्लास्टिकजन्य फोहोर व्यवस्थापन, सरसफाई र फोहोर पानीको प्रशोधनमा केन्द्रित छ, जसमा विशेषगरी हिमालयी क्षेत्रका पर्यावरणीय चुनौतीहरूलाई प्राथमिकता दिइएको छ।

अनुसन्धानका साथै उनी भावी पर्यावरणीय अभियन्ताहरूलाई अध्यापन तथा मार्गदर्शन गर्न र विभिन्न सार्वजनिक तथा निजी संस्थाहरूलाई परामर्श सेवा प्रदान गर्नमा पनि सक्रिय रूपमा संलग्न छन्। यस विश्वव्यापी मञ्चमा लगातार तेस्रोपटक प्राप्त यो मान्यताले पर्यावरणीय अनुसन्धानमा उनको निरन्तर योगदानलाई उजागर गर्नुका साथै सिक्किम र यहाँको शैक्षिक समुदायका लागि गर्वको विषय बनेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande