
खरसाङ, 09 अक्टोबर (हि.स.)। खरसाङ बजारमा गत ४ अक्टोबरको राति भएको आगलागीबाट प्रभावित तीन परिवारलाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) खरसाङ शाखा समितिले आर्थिक सहयोग प्रदान गरेको छ।
शाखा समिति अध्यक्ष निमा लामाको नेतृत्वमा गोरामुमोको टोलीले आगलागी पीडित परिवारहरूसँग भेटघाट गरी उनीहरूको अवस्थाबारे जानकारी लिँदै आर्थिक सहयोग हस्तान्तरण गरेको हो। स्मरण रहोस्, उक्त आगलागीमा तीनवटा घर क्षतिग्रस्त भएका थिए।
घटनापछि गोरामुमो खरसाङ शाखा समितिले आगलागीको घटनाबारे छानबिन गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्दै विद्युत् प्राधिकरणसमक्ष ज्ञापनपत्रसमेत बुझाएको थियो।
पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गर्नुका साथै घटनाको छानबिन र क्षतिपूर्तिको मागलाई निरन्तरता दिँदै गोरामुमो खरसाङ शाखा समितिले पीडितहरूको पक्षमा आफ्नो पहल अघि बढाएको छ।
हिन्दुस्थान समाचार / हनोक