
खरसाङ, 09 अक्टोबर (हि.स.)। खरसाङमा आजदेखि एमएलए कप अन्तरवार्ड फुटबल प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा वार्ड नम्बर ७ ले वार्ड नम्बर १७ लाई पेनल्टी सुटआउटमा ५-४ गोलको अन्तरले पराजित गर्दै विजयी सशुरुआत गरेको छ।
खरसाङको मन्टिभियट खेल मैदानमा हिल फुटबल एकाडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो खेलमा वार्ड नम्बर ७ र वार्ड नम्बर १७ बीच प्रतिस्पर्धा भएको थियो। खेलको पहिलो हाफको आठौँ मिनेटमा वार्ड नम्बर ७ का जर्सी नम्बर ५ दावा नर्बु शेर्पाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको खेल १-० को स्थितिमा समाप्त भएको थियो।
दोस्रो हाफको अन्तिम समयमा वार्ड नम्बर १७ का जर्सी नम्बर ८ कुणाल छेत्रीले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। निर्धारित समयमा खेल बराबरीमा समाप्त भएपछि अतिरिक्त समय खेलाइएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनल्टी सुटआउटबाट गरिएको थियो।
पेनल्टी सुटआउटमा वार्ड नम्बर ७ का पाँचै खेलाडीले गोल गर्न सफल भए। अर्कोतर्फ, वार्ड नम्बर १७ का एक खेलाडीको प्रहार वार्ड नम्बर ७ का गोलरक्षक सुजल प्रसादले रोकिदिए। यससँगै वार्ड नम्बर ७ ले ५-४ गोलको अन्तरले खेल जित्न सफल भयो। उत्कृष्ट प्रदर्शनका लागि गोलरक्षक सुजल प्रसादलाई खेलको उत्कृष्ट खेलाडी घोषित गर्दै ट्रफी प्रदान गरियो।
खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती प्रमुख अतिथिका रूपमा उपस्थित थिए। प्रतियोगितामा जम्मा १६ वटा टोलीले सहभागिता जनाइरहेका छन्। प्रतियोगिताको फाइनल खेल आगामी १९ अक्टोबरमा सम्पन्न हुनेछ। प्रतियोगिताको विजेता टोलीलाई ट्रफीसहित ५० हजार रुपैयाँ तथा उपविजेता टोलीलाई ट्रफीसहित ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
हिन्दुस्थान समाचार / हनोक