घर-दैलो अभियान र विशेष शिविरमार्फत छुटेका मतदाता नामावलीमा समेटिने
जिल्लापालको अध्यक्षतामा बैठक सम्पन्न


गान्तोक, 09 अक्टोबर (हि.स.)। छुटेका तथा पहिलोपटकका मतदाता/युवा मतदाताहरूको नाम पञ्जीकरण गर्ने विशेष अभियानबारे भारत निर्वाचन आयोग (ईसीआई) का निर्देशनहरूको कार्यान्वयनबारे छलफल गर्न शुक्रवार गान्तोकस्थित जिल्ला प्रशासनिक केन्द्र (डीएसी) मा जिल्लापाल तथा जिल्ला चुनाउ अधिकारी रोहन अगवानेको अध्यक्षतामा एक बैठक सम्पन्न भयो।

बैठकको क्रममा जिल्ला चुनाउ अधिकारी अगवानेले मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधिहरूलाई आयोगका निर्देशनहरूबारे जानकारी गराउनुका साथै हालको मतदाता नामावलीमा नाम समावेश नभएका योग्य मतदाताहरूको पञ्जीकरण प्रक्रियालाई सहज बनाउने उपायहरूबारे छलफल गरे।

ईसीआईको निर्देशनअनुसार यस विशेष अभियानको उद्देश्य विशेष गहन पुनरीक्षण (एसआईआर) अघिको मतदाता नामावलीमा नाम भएका, तर हालको नामावलीमा समावेश नभएका योग्य मतदाताहरू साथै युवा मतदातालगायत पहिलोपटक नाम पञ्जीकरण गराउन चाहने व्यक्तिहरूको पहिचान गर्नु हो।

बैठकले पञ्जीकरण प्रक्रियालाई सहज बनाउन बुथस्तरका अधिकारी (बीएलओ), चुनाउ पञ्जीकरण अधिकारी (ईआरओ) र राजनीतिक दलहरूबीच समन्वयको महत्त्वमा जोड़ दियो। बीएलओहरूलाई एसआईआर अघिको र हालको मतदाता नामावली तुलना गर्न, नाम छुटेका योग्य मतदाताहरूको पहिचान गर्न तथा उनीहरूको वर्तमान स्थिति बुझ्न र पञ्जीकरणका लागि फारम 6 भर्न योग्य व्यक्तिहरूलाई सहयोग गर्न घर-दैलो कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ।

ईसीआईले पहिचान गरिएका मतदाताहरूको बुथअनुरूप सूची मान्यताप्राप्त राजनीतिक दलका ‘बुथ स्तरका प्रतिनिधि’ (बीएलए) हरूसँग साझा गर्न पनि निर्देशन दिएको छ। सम्बन्धित चुनाउ अधिकारीहरूद्वारा यस अभियानको प्रगतिको नियमित समीक्षा गरिनेछ।

यसका साथै श्रमजीवी बस्ती र रात्रिकालीन आश्रयस्थलमा बसोबास गर्ने मानिस तथा घरबारविहीन र सीमान्तकृत व्यक्तिलगायतका लागि पञ्जीकरण आवेदन बुझाउने कार्यलाई सहज बनाउन ‘बुथस्तरीय शिविर’ र ‘विशेष शिविर’ हरू पनि आयोजना गर्न सकिनेछ।

आयोगले सबै योग्य नागरिकलाई पञ्जीकरण प्रक्रियाबारे जानकारी गराउन सुनिश्चित गर्न शैक्षिक संस्था, स्थानीय स्तरका पहल, व्यवस्थित मतदाता शिक्षा तथा निर्वाचन सहभागिता (एसभीईईपी) गतिविधि र पत्रकार सम्मेलनमार्फत जनचेतना तथा पहुँच विस्तारका कार्यक्रमहरूमा जोड़ दिएको छ।

यस विशेष अभियानको उद्देश्य सबै योग्य नागरिकहरूको नाम पञ्जीकरण प्रक्रियालाई सहज बनाउनु र निर्वाचन प्रक्रियामा सहभागितालाई सुदृढ़ पार्नु हो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande