
पाकिम, 09 अक्टोबर (हि.स.)। पाकिमस्थित जिल्ला प्रशासनिक केन्द्र (डीएसी) को सम्मेलन कक्षमा कृषि प्रविधि व्यवस्थापन निकाय (आत्मा) को सञ्चालक समिति तथा व्यवस्थापन समिति र जिल्ला कृषक सल्लाहकार समिति (डीएफएसी) को संयुक्त बैठक सम्पन्न भएको छ। उक्त बैठक आत्मा पाकिमद्वारा आयोजित गरिएको थियो।
बैठकको अध्यक्षता पाकिमकी जिल्लापाल तथा आत्माकी अध्यक्ष परी बिश्नोईले गरेकी थिइन्। उनले आत्मा पाकिमका उपलब्धिहरूको प्रशंसा गर्नुका साथै राज्यमा पाँचवटा उच्च मूल्यका कृषि उत्पादनहरूको पहिचान गर्ने र तिनको बजार पहुँच बढ़ाउन ‘फर्वार्ड लिङ्केज’ (उत्पादनपछिको बजार सम्बन्ध) लाई सुदृढ़ पार्ने विषयमा आफ्ना विचारहरू व्यक्त गरिन्। उनले यी उत्पादनहरूको मूल्य अभिवृद्धि गर्न र किसानहरूका लागि अझ राम्रा अवसरहरू सिर्जना गर्न तिनलाई फराकिलो बजारसँग जोड्नुपर्ने कुरामा जोड़ दिइन्।
जिल्लापालले स्थानीय उत्पादनहरूको मूल्य बढ़ाउन उपयुक्त प्याकेजिङ, प्रशोधन र बजेटिङ सुविधाहरूको विकास गर्नु आवश्यक रहेको विषय बताइन्। उनले उपहार (गिफ्टिङ) उद्योगमा अर्किड (सुनखरी फूल) को सम्भावनाबारे चर्चा गर्नुका साथै मूल्य अभिवृद्धिमार्फत विशिष्ट स्थानीय उत्पादनहरूलाई प्रवर्द्धन गर्ने अवसरहरूबारे प्रकाश पारिन्।
आत्माका अतिरिक्त निर्देशक तथा परियोजना निर्देशक छिरिङ चोपेल भोटियाले आत्माको संरचना र कार्यहरूबारे जानकारी दिए। उनले आत्मा सञ्चालक समितिको भूमिका र कार्यप्रणालीबारे विस्तृत रूपमा बताउँदै कृषि प्रसार सेवाहरूलाई सुदृढ़ पार्न र कृषक समुदायलाई सहयोग पुर्याउन यसको भूमिकाबारे प्रकाश पारे।
कृषि विभागकी उपनिर्देशक तथा आत्मा पाकिमकी उपपरियोजना निर्देशक रेबिका गुरुङले आत्मा पाकिमको 2025-26 को प्रगति प्रतिवेदन प्रस्तुत गरिन्। पावरपोइन्ट प्रस्तुतिमार्फत उनले पाकिम जिल्लाका सबै छः वटा ब्लकमा सञ्चालित गतिविधिहरूको कोष उपयोग र भौतिक प्रगतिको विवरण प्रस्तुत गरिन्। यी गतिविधिहरूमा विभिन्न विभागसँगको सहकार्यमा सञ्चालित तालिम सत्र, सचेतना कार्यक्रम, प्रदर्शन, फार्म स्कूल, किसान गोष्ठी र क्षमता अभिवृद्धि कार्यक्रमहरू समावेश थिए। उनले आत्मा पाकिमको जिल्ला कार्ययोजना पनि प्रस्तुत गरिन्।
केभीकेका प्रमुख डा. प्रकाश शर्माले वर्षा जल संचयन र कृषिमा जल व्यवस्थापनबारे जानकारी दिए, जसमा विशेषगरी शुष्क जमिनको खेतीमा जोड़ दिएका थिए। उनले विशेषगरी जलको सीमित उपलब्धता भएका क्षेत्रहरूमा कृषि कार्यका लागि आवश्यक दैनिक पानीको माग पूरा गर्न वर्षा जल संचयन र सदुपयोग गर्नुको महत्त्वमाथि जोड़ दिए साथै उनले कृषि कार्यलाई सघाउन र दिगो खेती प्रणालीलाई प्रवर्द्धन गर्न जलको कुशल व्यवस्थापन अभ्यासहरूको आवश्यकताबारे पनि चर्चा गरे।
उक्त बैठकमा अतिरिक्त निर्देशक (एएचभीएस) डा. अञ्जना प्रधान, एडीओ, एचडीओ, मत्स्य विभागका बीओ साथै डीएफएसी, अध्यक्षगण तथा ब्लक र सहायक प्रविधि प्रबन्धकहरूको उपस्थिति रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल