आतङ्कवाद नियन्त्रणमा अफगानिस्तानको निष्क्रियता अब सह्य हुँदैन: पाकिस्तान
सांकेतिक।


इस्लामाबाद, 0१ नोभेम्बर (हि.स.)। पाकिस्तानले आतङ्कवाद नियन्त्रणका विषयमा अफगानिस्तानको निष्क्रियता अब सहन नगर्ने चेताउनी दिएको छ। पाकिस्तानको सङ्घीय सूचना तथा प्रसारण मन्त्रालयले शनिबार राति काबुलप्रति कडा असन्तुष्टि व्यक्त गर्दै तालिबान नेतृत्व आफ्नो जिम्मेवारीबाट पन्छिन खोजिरहेको आरोप लगाएको छ।

‘द न्युज’ को प्रतिवेदनअनुसार, मन्त्रालयले पाकिस्तान र अफगानिस्तानबीचको तनावको वास्तविक कारण अफगानिस्तानमा सक्रिय आतङ्कवादी समूहका शिविरहरू रहेको बताएको छ। ती अखडाहरू नष्ट गर्नुको सट्टा अफगान तालिबान प्रशासनले इस्लामाबादको नीतिलाई दोष दिइरहेको मन्त्रालयको आरोप छ।

मन्त्रालयले पाकिस्तानको अडान स्पष्ट रहेको उल्लेख गर्दै आतङ्कवाद कुनै पनि अवस्थामा स्वीकार्य नहुने र आफ्ना नागरिकको सुरक्षामा सम्झौता नगरिने जनाएको छ। पाकिस्तानले आफ्नो सुरक्षाका लागि खतरा बनेका सीमापार आतङ्कवादी शिविरहरू सहन नसक्ने बताउँदै अन्तरराष्ट्रिय कानुनअनुसार राष्ट्रिय सुरक्षामा उत्पन्न हुने खतरालाई समाप्त पार्न आवश्यक कदम चाल्ने अधिकार रहेको पनि स्पष्ट पारेको छ।

पाकिस्तानी मन्त्रालयले वर्तमान अवस्थाका लागि अफगान तालिबान प्रशासन जिम्मेवार रहेको आरोप लगाउँदै अफगानिस्तानको निष्क्रियता, ढिलासुस्ती वा गलत प्राथमिकताका कारण पाकिस्तानको सुरक्षा जोखिममा पर्न नदिने जनाएको छ।

‘पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एन्ड सेक्युरिटी स्टडिज’ को तथ्याङ्कअनुसार, २०२६ को सेप्टेम्बर महिनामा पाकिस्तानमा २२५ वटा आतङ्कवादी हमला भए। पछिल्लो १२ वर्षमा कुनै एक महिनामा भएको यो सबैभन्दा ठूलो सङ्ख्या हो।

कूटनीतिक वार्ता तथा मध्यस्थताको प्रयास भइरहे पनि दुवै देशबीचको तनावपूर्ण सम्बन्धमा आतङ्कवादको मुद्दा प्रमुख विवादका रूपमा कायम छ। यसअघि तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले काबुल इस्लामाबादसँग वार्ता र सहकार्य जारी राख्न इच्छुक रहेको बताएका थिए। अर्कातिर, पाकिस्तानले सम्बन्ध सुधारका लागि अतिवादी समूहविरुद्ध ठोस कारबाही आवश्यक रहेको बताउँदै आएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande