
तेहरान, 0१ नोभेम्बर (हि.स.)। मध्यपूर्वमा बढ्दो तनावको केन्द्र बनेको होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने विषयमा इरानका शीर्ष नेताहरूले कतारका मध्यस्थहरूमार्फत वार्ता अघि बढाइरहेका छन्। इरानले अमेरिकाले आफ्ना सबै सर्त स्वीकार गरेमा दुई दिनभित्र जलडमरूमध्य खोल्न सकिने जनाएको छ।
अल जजिरा र इरनाको प्रतिवेदनअनुसार, इरानका विदेशमन्त्री अब्बास अराघचीले कतारी मध्यस्थहरूसँग भइरहेको वार्ताको पुष्टि गरेका छन्। उनका अनुसार, होर्मुज जलडमरूमध्य दुई दिनभित्र पुनः खोल्ने योजनालाई अन्तिम रूप दिइएको छ। तर यसका लागि अमेरिकाले इरानका सबै माग स्वीकार गर्नुपर्ने सर्त राखिएको छ।
यसैबीच, इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकी उपराष्ट्रपति जेडी भेन्सको पत्र अध्ययन गर्दा वासिङ्टनको अडानमा उल्लेखनीय परिवर्तन देखिएको बताएका छन्। उनले यसलाई सकारात्मक सङ्केतका रूपमा व्याख्या गरेका छन्।
उता, इरानका सर्वोच्च नेता मोजतबा खामेनीले आफ्ना सैन्य कमान्डरहरूलाई अमेरिका र इजरायलबाट आउन सक्ने कुनै पनि सम्भावित खतराको तत्काल र प्रभावकारी जवाफ दिन निर्देशन दिएका छन्। उक्त निर्देशनमा भौगोलिक सीमाको कुनै बन्देज नराखी आवश्यक प्रतिकार गर्न भनिएको छ।
इरानी सशस्त्र बलका प्रमुख मेजर जनरल अली अब्दुल्लाहीले सर्वोच्च नेताको निर्देशनपछि इरानी सेना पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताएका छन्। उनले शनिबार दिएको जानकारीअनुसार सैन्य कमान्डरहरूले शत्रुका सम्भावित ठेगाना र सम्पत्तिहरूको नयाँ सूची आफ्नो रणनीतिमा समावेश गरेका छन्।
अब्दुल्लाहीले सर्वोच्च नेता खामेनीको नेतृत्वले सशस्त्र बलका कमान्डर तथा सदस्यहरूलाई मार्गदर्शन गरिरहेको उल्लेख गर्दै इरानी सेना कुनै पनि प्रकारको आक्रमणको सामना गर्न तयार रहेको बताए। उनले देशको रक्षाका लागि अन्तिम साससम्म दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार, इरानी सेनाले आधुनिक तथा उन्नत उपकरण र प्रविधिको प्रयोग गर्दै अमेरिकी तथा अन्य शत्रु शक्तिको सामना पूर्ण क्षमता र तीव्रताका साथ गर्नेछ।
हिन्दुस्थान समाचार / बिशाल