दिल्ली एनएसयूआईका नेतामाथि छात्राहरूलाई एनआरआई पुरुषहरूकहाॅं पठाएको आरोप, एबीवीपीद्वारा एनआईए जाँचको माग
सांकेतिक।


नयाँ दिल्ली, ११ नोभेम्बर (हि.स.)। अखिल भारतीय विद्यार्थी परिषद् (एबीवीपी) ले दिल्ली विश्वविद्यालयअन्तर्गत रामानुजन कलेजका एनएसयूआई उपाध्यक्ष अनस खानमाथि छात्राहरूलाई आर्थिक लाभ तथा अन्य सुविधाको प्रलोभन देखाएर एनआरआई पुरुषहरूसँग पठाउनेसम्बन्धी कथित सन्देश सार्वजनिक भएको घटनामा राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) मार्फत जाँच गराउन माग गरेको छ।

एबीवीपीका अनुसार, एनआरआई प्रायोजित कार्यक्रमको नाममा छात्राहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको थियो। सार्वजनिक भएका सन्देशहरूमा छात्राहरूको शारीरिक बनावटका आधारमा छनोट गर्ने विषयसमेत उल्लेख गरिएको दाबी गरिएको छ। यस घटनापछि कलेज प्रशासनले अनस खानलाई निलम्बन गरिसकेको छ।

एबीवीपीले छात्राहरूलाई आर्थिक प्रलोभन देखाएर यस्ता गतिविधिमा संलग्न गराउने घटनाले सम्भावित मानव तस्करी तथा देहव्यापारजस्ता संगठित अपराधमा संलग्न सञ्जालको आशङ्का उत्पन्न गरेको जनाएको छ। सङ्गठनले एनआरआई सम्पर्क, आर्थिक लेनदेन तथा सम्भावित अन्तरराष्ट्रिय सञ्जालको भूमिकाबारे जानकारी लिन सम्पूर्ण घटनाको विस्तृत जाँच गराउन माग गरेको छ।

एबीवीपीले गत महिना पनि एनएसयूआईसँग सम्बन्धित व्यक्तिहरूले एउटा कार्यक्रममा सहभागी गराउन युवाहरूलाई लैजाने विषयसँग सम्बन्धित यस्तै प्रकारको संवाद सार्वजनिक भएको दाबी गरेको छ। लगातार यस्ता घटना सार्वजनिक भइरहेकामा प्रश्न उठाउँदै सङ्गठनले एनएसयूआईका कार्यक्रम पछाडि आर्थिक प्रलोभन तथा शङ्कास्पद सञ्जालले काम गरिरहेको त छैन भन्ने प्रश्न गरेको छ।

यसका साथै एबीवीपीले २०१८ मा एनएसयूआईका तत्कालीन राष्ट्रिय अध्यक्ष फिरोज खानमाथि सङ्गठनकै एक महिला पदाधिकारीले लगाएको यौन दुर्व्यवहारको आरोपसमेत उल्लेख गरेको छ। यी घटनालाई कांग्रेस तथा यसको विद्यार्थी सङ्गठनले महिला सुरक्षासम्बन्धी गर्ने दाबीसँग जोड्दै एबीवीपीले प्रश्न उठाएको छ।

एबीवीपीका राष्ट्रिय महामन्त्री डा. वीरेन्द्र सिंह सोलंकीले महिला अधिकार र समानताको कुरा गर्ने कांग्रेसले आफ्नो विद्यार्थी सङ्गठनमा महिलाको गरिमा तथा सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी लिनुपर्ने बताए।

उनले यस घटनामा सम्बन्धित पदाधिकारीलाई हटाइएको दाबी गर्दै एनएसयूआईले पूर्वमिति राखेर पत्र जारी गरेको आरोप लगाए। तर सम्बन्धित व्यक्तिको सामाजिक सञ्जालको स्थितिमा भने व्यक्तिगत कारण देखाउँदै आफैँले राजीनामा दिएको उल्लेख रहेको उनले बताए।

सोलंकीले पदाधिकारीलाई हटाइएको र उनले आफैँ राजीनामा दिएको भन्ने दुवै दाबीबीच विरोधाभास रहेको बताए। उनले यस विषयमा कांग्रेसले जवाफदेहिता सुनिश्चित गर्नुपर्ने माग गरे।

एबीवीपीले सम्भावित मानव तस्करी, देहव्यापार तथा एनआरआई सञ्जालसँग सम्बन्धित सबै पक्षको छानबिन गरी दोषीमाथि कडा कारबाही सुनिश्चित गर्न सम्पूर्ण घटनाको एनआईएमार्फत अनुसन्धान गराउन माग गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande