
गुवाहाटी, ११ नोभेम्बर (हि.स.)। असमको डिगारू रेलवे स्टेसनमा बुधबार बिहान कोलकाता-साइरङ एक्सप्रेसका पाँचवटा डिब्बा र इन्जिन रेल लिकबाट खसेका छन्। यस घटनामा सबै यात्रु सुरक्षित छन् र कसैलाई गम्भीर चोट लागेको सूचना छैन। यो जानकारी पूर्वोत्तर सीमा रेलवेले दिएको हो।
पूर्वोत्तर सीमा रेलवेका सीपीआरओ कपिञ्जल किशोर शर्माका अनुसार, रेल सङ्ख्या १३१२५ कोलकाता-साइरङ एक्सप्रेस बुधबार बिहान करिब ६ बजेर ५४ मिनेटमा डिगारू रेलवे स्टेसन पुग्दै थियो। गुवाहाटीबाट करिब ४४ किलोमिटर टाढा रहेको यस स्टेसनमा अर्को रेललाई प्राथमिकता दिन एक्सप्रेस रेललाई रिसिभ गरिँदै थियो। यसै क्रममा लोको पाइलटले गति नियन्त्रण गर्न नसक्दा इन्जिनसहित पाँचवटा डिब्बा रेल लिकबाट खसे।
पूर्वोत्तर सीमा रेलवेका महाप्रबन्धकलगायत वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगेर रेल सेवा पुनः सञ्चालन गर्ने कार्यको निगरानी गरिरहेका छन्। रेलवेले अप लाइनमा रेल सञ्चालन पुनः सुरु गरिएको र अप तथा डाउन दुवै लाइनमा रेलहरू सामान्य रूपमा चलिरहेको जनाएको छ। विभिन्न स्थानमा रोकिएका रेलहरूलाई बिस्तारै उनीहरूको गन्तव्यतर्फ पठाइनेछ।
यस घटनाका कारण केही स्थानीय रेलहरू रद्द वा आंशिक रूपमा गन्तव्य परिवर्तन गरिएका छन्। रेल सङ्ख्या १५७६९ अलीपुरद्वार जङ्क्सन-मरियानी जङ्क्सन इन्टरसिटी एक्सप्रेसलाई कामाख्यामा आंशिक रूपमा समाप्त गरिएको छ भने रेल सङ्ख्या ७५७२७/७५७२८ गुवाहाटी-हैबरगाउँ-गुवाहाटी डीएमयू सेवा रद्द गरिएको छ।
यात्रुहरू तथा उनीहरूका आफन्तहरूलाई सहयोग गर्न विभिन्न रेलवे स्टेसनहरूमा हेल्पलाइन नम्बरहरू पनि सक्रिय गरिएका छन्।
हेल्पलाइन नम्बरहरू:
कटिहार: ९००२०४१८०६, ९००२०४१९५२, ९७७१४४१९५६
किशनगञ्ज: ०६४५६२२६७९४, ०६४५६२२६७९५
न्यू जलपाईगुडी: ६२८७६९९८८०
गुवाहाटी: ०३६१२७३१६२१, २७३१६२२, २७३१६२३
लामडिङ: ०३६७४२६३८५८, २६५९५८, २६३८३१
बदरपुर: ०३८४३२६९५४६, २६९५४८, २६८४२४, २६९५४७
सिलचर: ०३८४२२४५४१४, २४५४१९, २४५४२३।
हिन्दुस्थान समाचार / भवानी थामी