
गुवाहाटी, ११ नोभेम्बर (हि.स.)। पूर्वोत्तर सीमा रेलवेको गुवाहाटी-लामडिङ खण्डअन्तर्गत डिगारु रेलवे स्टेसनमा बुधबार कोलकाता-साइरङ एक्सप्रेस रेल दुर्घटनाग्रस्त भएपछि प्रभावित रेलमार्गमा रेल परिचालन सामान्य भएको छ। दुर्घटनाबाट प्रभावित रेलका सबै यात्रुलाई विशेष रेलमार्फत उनीहरूको गन्तव्य साइरंग पठाइएको छ।
पूर्वोत्तर सीमा रेलवेका मुख्य जनसम्पर्क अधिकारी कपिञ्जल किशोर शर्माका अनुसार, यात्रुहरूलाई लिएर विशेष रेल बुधबार बिहान ११ः३० बजी डिगारुबाट साइरंगका लागि प्रस्थान गरेको थियो। यसका साथै, अलपत्र परेका यात्रुहरूलाई पिउने पानी तथा खाद्य सामग्री उपलब्ध गराइएको थियो।
उनले रेलमार्गको दुवै दिशाका लाइनमा रेल सेवा सामान्य रूपमा सञ्चालन भइरहेको जानकारी दिए। विभिन्न स्टेसनमा रोकिएका रेलहरूले पनि आफ्नो यात्रा पुनः शुरु गरेका छन्।
पूर्वोत्तर सीमा रेलवेको महाप्रबन्धकसहित वरिष्ठ अधिकारीहरूले घटनास्थलको निरीक्षण गरी उद्धार तथा पुनःस्थापना कार्यको निगरानी गरेका थिए। घटनाको विस्तृत छानबिनसमेत भइरहेको जनाइएको छ।
यस दुर्घटनाका कारण केही रेल सेवा रद्द गरिएका छन्। ११ नोभेम्बरको ७५७२७/७५७२८ (गुवाहाटी-हैबरगाउँ-गुवाहाटी) डेमु रेल र गुवाहाटी-नयाँ जलपाइगुडी इन्टरसिटी एक्सप्रेस (१५६७६) रद्द गरिएको छ। यसैगरी, १२ नोभेम्बरमा सञ्चालन हुने नयाँ जलपाइगुडी-गुवाहाटी इन्टरसिटी एक्सप्रेस (१५६७५) पनि रद्द गरिएको छ।
मुख्य जनसम्पर्क अधिकारी शर्माले यात्रुहरूलाई परेको असुविधाप्रति दुःख व्यक्त गर्दै भविष्यमा यस्ता घटना रोक्न तथा यात्रुको सुरक्षा सुनिश्चित गर्न रेलवे प्रतिबद्ध रहेको बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल