
नयाँ दिल्ली, ११ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला, केन्द्रिय गृह तथा सहकारितामन्त्री अमित शाह र केन्द्रिय सडक परिवहन तथा राजमार्गमन्त्री नितिन गडकरीले भाइटीकाको अवसरमा देशवासीहरूलाई शुभकामना दिँदै सबैको सुख, समृद्धि एवं खुसीयालीको कामना गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार सामाजिक सञ्जाल एक्समार्फत देशभरका नागरिकलाई भाइटीकाको शुभकामना दिँदै यो पवित्र पर्व दाजुभाई तथा दिदीबहिनीबीचको स्नेहपूर्ण र गहिरो सम्बन्धको मिठास एवं आत्मीयताको प्रतीक रहेको बताएका छन्। उनले यस शुभ अवसरमा सबैको जीवनमा खुशी र समृद्धिको कामना गरेका छन्।
लोकसभा अध्यक्ष ओम बिरलाले भाइटीकालाई दाजुभाई तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र अमूल्य सम्बन्धप्रति समर्पित पर्व भन्दै शुभकामना दिएका छन्। उनले यो पर्वले पारिवारिक सम्बन्धको आत्मीयता तथा एकअर्काप्रति स्नेह, सम्मान र जिम्मेवारीको भावनालाई स्मरण गराउने बताएका छन्। उनले भगवान्सँग प्रत्येक दाजुभाइ तथा दिदीबहिनीको सम्बन्ध सधैँ प्रेम र विश्वासले मजबुत रहोस् तथा उनीहरूको जीवनमा सुख, स्वास्थ्य, खुसीयाली र समृद्धि कायम रहोस् भनी प्रार्थना गरेका छन्।
केन्द्रिय गृह तथा सहकारितामन्त्री अमित शाहले पनि सम्पूर्ण देशवासीलाई भाइटीकाको शुभकामना दिँदै दाजुभाई तथा दिदीबहिनीबीचको पवित्र स्नेहको यो पर्वले सबैको जीवनमा खुशी र उत्साह ल्याओस् भन्ने कामना गरेका छन्।
केन्द्रिय सडक परिवहन तथा राजमार्गमन्त्री नितिन गडकरीले भाइटीकालाई दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र सम्बन्ध र प्रेमको प्रतीक बताउँदै देशवासीहरूलाई यस पावन पर्वको शुभकामना दिएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी