राष्ट्रिय स्वच्छता पुरस्कार : राष्ट्रपति मुर्मूले आज छत्तीसगढका रायपुर, बिलासपुर र बिल्हालाई सम्मानित गर्ने
राष्ट्रपति द्रौपदी मुर्मु


रायपुर, १० नोभेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले स्वच्छ सर्वेक्षण २०२५-२६ अन्तर्गत राष्ट्रिय पुरस्कारका लागि छनोट भएका छत्तीसगढका तीनवटा स्थानीय तह रायपुर, बिलासपुर र बिल्हालाई आज सम्मानित गर्नेछिन्।

नयाँ दिल्लीस्थित विज्ञान भवनमा बिहान ११ः३० बजीदेखि आयोजना हुने समारोहमा राष्ट्रपति मुर्मूले स्वच्छताको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका यी स्थानीय तहलाई पुरस्कार प्रदान गर्नेछिन्।

प्रदेशका उपमुख्यमन्त्री अरुण सावको कार्यालयका अनुसार, केन्द्रिय आवासन तथा शहरी कार्य मन्त्रालयद्वारा आयोजित यस समारोहमा केन्द्रिय आवासन तथा शहरी कार्यमन्त्री मनोहर लाल र केन्द्रीय राज्यमन्त्री तोखन साहू पनि सहभागी हुनेछन्।

छत्तीसगढका तर्फबाट उपमुख्यमन्त्री एवं नगरीय प्रशासन तथा विकासमन्त्री अरुण साव, प्रमुख सचिव सोनमणि बोरा, सुडाका मुख्य कार्यपालक अधिकारी सुमीत अग्रवाललगायत छनोट भएका स्थानीय तहका जनप्रतिनिधि, अधिकारी तथा सरसफाइकर्मीहरू सहभागी हुनेछन्।

स्वच्छ सर्वेक्षणको दसौँ संस्करणमा छत्तीसगढका तीन सहर राष्ट्रिय पुरस्कारका लागि छनोट हुनु प्रदेशका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ। यस वर्षको सर्वेक्षणको मूल नारा ‘स्वच्छताको नयाँ पहल-हात बढाऔँ, मिलेर सफाइ गरौँ’ रहेको छ। यसमार्फत स्वच्छता अभियानमा सामूहिक जिम्मेवारी र नागरिकको सहभागितालाई प्रोत्साहन गरिएको छ।

यस उपलब्धिमा स्थानीय तहका अधिकारी तथा कर्मचारीसँगै सफाइ मित्र र स्थानीय नागरिकहरूको सक्रिय भूमिका रहेको छ। उल्लेखनीय छ, स्वच्छ सर्वेक्षणको अघिल्लो संस्करणमा पनि रायपुर, बिलासपुर र बिल्हाले राष्ट्रिय स्तरमा पुरस्कार प्राप्त गरेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande