प्रधानमन्त्री मोदी आजदेखि कर्नाटक र गुजरातको दुईदिने भ्रमणमा
भाजपा ने प्रधानमंत्री नरेन्द्र मोदी के कर्नाटक के कार्यक्रम को अपने एक्स हैंडल पर साझा किया है।


- बेङलुरुमा १५ हजार ६०० करोड रुपियाँभन्दा बढी लागतका विभिन्न विकास परियोजनाको उद्घाटन तथा शिलान्यास गर्ने

- मङ्गलुरुमा देशकै सबैभन्दा ठूलो भूमिगत एलपीजी भण्डारण केन्द्र राष्ट्रलाई समर्पण गर्ने

- गुजरातको बनासकाँठास्थित अम्बाजी मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्ने

नयाँ दिल्ली, १३ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि कर्नाटक र गुजरातको दुईदिने भ्रमणमा रहनेछन्। भ्रमणका क्रममा उनले कर्नाटकको बेङलुरु तथा मैसुरुमा विभिन्न विकास परियोजनाको उद्घाटन, शिलान्यास र राष्ट्रलाई समर्पण गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीले आज बिहान करिब १०ः४५ बजी बेङलुरुस्थित प्रशान्ति कुटीरमको स्वर्ण जयन्ती समारोहमा सहभागिता जनाउनेछन्। दिउँसो करिब १२ः४५ बजी तवरेकेरेदेखि आईआईएम बेङलुरु मेट्रो स्टेसनसम्म मेट्रोलाई झन्डा देखाएर प्रस्थान गराउनेछन् र स्वयं पनि मेट्रो यात्रा गर्नेछन्। दिउँसो करिब १ः१५ बजी उनले बेङलुरुमा १५ हजार ६०० करोड रुपियाँभन्दा बढी लागतका विभिन्न विकास परियोजनाको शिलान्यास, उद्घाटन तथा राष्ट्रलाई समर्पण गर्नेछन्। यस अवसरमा उनले जनसभालाई पनि सम्बोधन गर्नेछन्।

त्यसपछि प्रधानमन्त्री मैसुरु पुग्नेछन्। त्यहाँ दिउँसो करिब ३ः३० बजी उनले कोस्मोस-मैसुरु तारामण्डलको उद्घाटन गर्नेछन् र जनसभालाई सम्बोधन गर्नेछन्।

नोभेम्बर १४ मा प्रधानमन्त्री दिउँसो करिब १२ बजी गुजरातको बनासकाँठास्थित अम्बाजी मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्नेछन्। अम्बाजी मन्दिर ५१ वटा पूजनीय शक्तिपीठमध्ये एक हो। यो जानकारी आधिकारिक विज्ञप्तिमा दिइएको छ।

बेङलुरुमा प्रधानमन्त्रीको कार्यक्रम

प्रधानमन्त्रीले स्वामी विवेकानन्द योग अनुसन्धान संस्थान (एस-व्यास) को आवासीय मुख्यालय परिसर प्रशान्ति कुटीरममा आयोजित स्वर्ण जयन्ती समारोहमा सहभागिता जनाउनेछन्। यस अवसरमा उनले स्वर्ण जयन्ती प्रशासनिक भवनको शिलान्यास गर्नेछन् भने केरलाको तिरुवनन्तपुरमस्थित एस-व्यासको बाह्य परिसरको शुभारम्भ गर्नेछन्।

१९७५ मा स्थापना गरिएको प्रशान्ति कुटीरमको उद्देश्य आधुनिक विज्ञानलाई भारतको आध्यात्मिक ज्ञानसँग एकीकृत गर्नु थियो। यो एस-व्यासको प्रमुख केन्द्र हो। २००२ मा यसलाई मानद विश्वविद्यालयको मान्यता प्रदान गरिएको थियो। यो संस्थान योगसम्बन्धी शिक्षा तथा अनुसन्धानमा समर्पित छ।

यस कार्यक्रममा १९२६ मा बेङलुरुमा जन्मिएका प्रख्यात चिन्तक, लेखक तथा सङ्गठनकर्ता होङ्गसन्द्रा वेङ्कटरमैया शेषाद्रीको जन्मशताब्दी पनि मनाइनेछ। उनी सन् १९४६ मा राष्ट्रिय स्वयंसेवक सङ्घमा आबद्ध भएका थिए र १९८७ देखि २००० सम्म सङ्घका सरकार्यवाह रहेका थिए।

उनी एस-व्यासका परिकल्पनाकारमध्ये एक थिए। उनको प्रेरणा र मार्गदर्शनले दशकौँदेखि प्रशान्ति कुटीरमको विकास तथा संस्थानका उद्देश्यहरू अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।

प्रधानमन्त्रीले बेङलुरुमा १५ हजार ६०० करोड रुपियाँभन्दा बढी लागतका विभिन्न विकास परियोजनाको उद्घाटन, शिलान्यास तथा राष्ट्रलाई समर्पण गर्नुका साथै केही परियोजनाको शुभारम्भ गर्नेछन्। यी परियोजनाहरू शहरी यातायात, विद्युत् प्रसारण, नवीकरणीय ऊर्जा, पेट्रोलियम पूर्वाधार, फोहोरमैला व्यवस्थापन तथा रेलवेजस्ता प्रमुख क्षेत्रसँग सम्बन्धित छन्।

प्रधानमन्त्रीले करिब तीन हजार ४७० करोड रुपियाँ लागतमा निर्माण गरिएको बेङलुरु मेट्रोको पिंक लाइनअन्तर्गत कालेना अग्रहारादेखि तवरेकेरेसम्मको खण्ड उद्घाटन गर्नेछन्। यस नयाँ खण्डले शहरी सम्पर्क विस्तार गर्नुका साथै दैनिक आवतजावत सहज बनाउने, यात्रा समय घटाउने र बेङलुरु सार्वजनिक यातायात व्यवस्थालाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।

त्यसैगरी, करिब चार हजार ४५० करोड रुपियाँको लगानीमा विकसित कोप्पल-दोस्रो र गदग-दोस्रो नवीकरणीय ऊर्जा क्षेत्र एकीकरणसम्बन्धी दोस्रो चरणको प्रसारण योजनाको उद्घाटन गर्नेछन्। यस प्रसारण प्रणालीमार्फत कर्नाटकका कोप्पल र गदग क्षेत्रबाट करिब दुई गिगावाट नवीकरणीय ऊर्जा राष्ट्रिय विद्युत् ग्रिडमा पुर्याउन सकिनेछ।

प्रधानमन्त्रीले करिब एक हजार ३७० करोड रुपियाँको लगानीमा विकसित बिदरस्थित सौर्य ऊर्जा क्षेत्रको प्रसारण योजनाको पनि उद्घाटन गर्नेछन्। यस परियोजनाअन्तर्गत बिदर पुलिङ स्टेसन स्थापना गरिएको छ, जसले उक्त क्षेत्रबाट २.५ गिगावाट सौर्य ऊर्जा प्रसारण गर्न सहयोग पुर्याउनेछ।

प्रधानमन्त्री मोदीले तीन हजार ४५० करोड रुपियाँभन्दा बढीको लगानीमा दावणगेरे-चित्रदुर्ग र बल्लारी नवीकरणीय ऊर्जा क्षेत्र एकीकरणसम्बन्धी प्रसारण योजनाको शिलान्यास गर्नेछन्। यसका साथै एक हजार १०० करोड रुपियाँभन्दा बढीको लगानीमा दावणगेरे र बल्लारीमा थप नवीकरणीय ऊर्जा क्षमता एकीकृत गर्न प्रसारण प्रणाली सुदृढीकरण परियोजनाको पनि शिलान्यास गर्नेछन्।

प्रधानमन्त्रीले ८५० करोड रुपियाँभन्दा बढीको लागतमा मङ्गलुरुमा निर्माण गरिएको भारतकै सबैभन्दा ठूलो भूमिगत एलपीजी भण्डारण केन्द्र राष्ट्रलाई समर्पण गर्नेछन्। ८० हजार मेट्रिक टन भण्डारण क्षमता रहेको यस केन्द्रले भारतको एलपीजी भण्डारण पूर्वाधारलाई थप सुदृढ बनाउनेछ।

यस परियोजनामा न्यु मङ्गलुरु बन्दरगाहलाई मुख्य टर्मिनलसँग जोड्ने ९.४ किलोमिटर लामो एलपीजी पाइपलाइन पनि समावेश छ। यसले एलपीजीको प्रभावकारी ढुवानी तथा भण्डारणमा सहयोग पुर्याउनेछ।

त्यसैगरी, प्रधानमन्त्रीले मङ्गलुरु रिफाइनरी एन्ड पेट्रोकेमिकल्स लिमिटेड (एमआरपीएल) को बेङलुरुस्थित देवनगोन्थी मार्केटिङ टर्मिनल पनि राष्ट्रलाई समर्पण गर्नेछन्। ३३० करोड रुपियाँको लागतमा निर्माण गरिएको यस आधुनिक केन्द्रले कर्नाटकमा पेट्रोलियम पदार्थको भण्डारण तथा वितरण पूर्वाधारलाई सुदृढ बनाउनेछ।

प्रधानमन्त्रीले बेङलुरुको हरलकुन्टेमा ग्यास अथोरिटी अफ इन्डिया लिमिटेड (गेल) को कम्प्रेस्ड बायोग्यास उत्पादन केन्द्रको शिलान्यास गर्नेछन्। यस केन्द्रले दैनिक करिब ३०० टन नगरपालिकाबाट निस्कने ठोस फोहोर प्रशोधन गरी १२.६ टन स्वच्छ कम्प्रेस्ड बायोग्यास उत्पादन गर्नेछ।

यस परियोजनाले वैज्ञानिक फोहोरमैला व्यवस्थापनलाई प्रोत्साहन गर्नुका साथै परम्परागत इन्धनमाथिको निर्भरता घटाउने र स्वच्छ तथा दिगो वातावरण निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री मोदीले अमृत भारत स्टेसन योजनाअन्तर्गत पुनर्विकास गरिएका चारवटा रेलवे स्टेसन-चामराजनगर, चिक्कमगलुरु, सकलेशपुर र सुब्रह्मण्य रोडको उद्घाटन गर्नेछन्। पुनर्विकसित यी स्टेसनहरूले यात्रुहरूलाई थप सुविधा उपलब्ध गराउनुका साथै स्थानीय व्यापारिक गतिविधि तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनेछन्।

यसैगरी, २८४ किलोमिटर लामो गदग-होतगी रेलमार्ग दोहोरो बनाउने परियोजनाअन्तर्गतको ४५ किलोमिटर लामो बागलकोट-वण्डाल खण्ड राष्ट्रलाई समर्पण गर्नेछन्। यसले यात्रु तथा मालसामान ढुवानीलाई सहज बनाउनुका साथै स्थानीय व्यवसाय र कुडगी एनटीपीसी विद्युत् केन्द्रमा कोइला आपूर्तिलाई सहयोग पुर्याउनेछ।

यसका साथै प्रधानमन्त्रीले बेङलुरु-मङ्गलुरु-मडगाउँ वन्दे भारत एक्सप्रेसलाई झन्डा देखाएर शुभारम्भ गर्नेछन्। यस रेल सेवाले बेङलुरु, तटीय कर्नाटक र गोवाबीच तीव्र तथा आधुनिक रेल सम्पर्क उपलब्ध गराउनेछ। मडगाउँ पुग्नुअघि यसले हासन, सकलेशपुर, मङ्गलुरु, उडुपी, मुरुडेश्वर, गोकर्ण र कारवारलगायत प्रमुख गन्तव्यलाई जोड्नेछ। यसबाट यात्रुहरू लाभान्वित हुनुका साथै क्षेत्रीय पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीले मैसुरुस्थित कोस्मोस-मैसुरु तारामण्डलको उद्घाटन गर्नेछन्। यसलाई भारतमा तारामण्डल प्रविधि तथा खगोल विज्ञान शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

भारतीय ताराभौतिकी संस्थान (आईआईए) ले विकास गरेको यो देशकै पहिलो एलईडी गुम्बजयुक्त तारामण्डल हो। यसलाई खगोल विज्ञान शिक्षा तथा तालिमको प्रमुख केन्द्रका रूपमा स्थापित गरिएको छ। यो तारामण्डल मैसुरु विश्वविद्यालय परिसरमा चामुण्डी पहाडको फेदीमा अवस्थित छ।

यस आधुनिक केन्द्रमा १५ मिटरको झुकाइएको गुम्बज रहेको छ, जसमा ४.२ करोडभन्दा बढी एलईडी र करिब ६ हजार १५० प्यानल समावेश छन्। परम्परागत तारामण्डलमा स्थिर गुम्बजमा दृश्य प्रदर्शन गर्न प्रोजेक्टर प्रयोग गरिन्छ। तर यस केन्द्रका एलईडी प्यानललाई तत्कालै नियन्त्रण गर्न सकिने भएकाले दर्शकले थप जीवन्त दृश्य अनुभव प्राप्त गर्न सक्नेछन्। यसले खगोल विज्ञान शिक्षाका क्षेत्रमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।

यसको स्काई थिएटरमा व्यावसायिक रूपमा निर्माण गरिएका खगोल विज्ञानसम्बन्धी कार्यक्रमका साथै मैसुरुको इतिहास र खगोल विज्ञानबीचको सम्बन्धबारे जानकारी दिने विशेष चलचित्र पनि प्रदर्शन गरिनेछ। यी कार्यक्रम कन्नड, अङ्ग्रेजी र हिन्दी भाषामा उपलब्ध हुनेछन्।

यस केन्द्रमा प्रदर्शनी कक्ष, खगोल विज्ञानसम्बन्धी नमुना तथा कलाकृतिहरूको सङ्ग्रहालय, व्याख्यान कक्ष, तालिम केन्द्र र अन्तरक्रियात्मक बाह्य प्रदर्शनीसमेत रहनेछन्।

यस केन्द्रका गतिविधिहरू भारतीय ताराभौतिकी संस्थानको अनुसन्धान, देशभित्र तथा अन्तरिक्षमा रहेका बहु-तरङ्गदैर्ध्य दूरबिनहरूको सञ्चालन, भविष्यका खगोलीय पूर्वाधार विकास तथा राष्ट्रियस्तरमा खगोल विज्ञानसम्बन्धी जानकारी विस्तार गर्ने कार्यक्रमका पूरक हुनेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande