
नयाँ दिल्ली, १७ नोभेम्बर (हि.स.)। अरुणाचल प्रदेशको नामसाईस्थित गोल्डेन प्यागोडामा भगवान् बुद्धका पवित्र अस्थीको दर्शन गर्न पहिलो दुई दिनमा १२ हजारभन्दा बढी श्रद्धालु पुगेका छन्। यससँगै तवाङ, बोमडिला र नामसाईमा आयोजित प्रदर्शनीमा १५ नोभेम्बरसम्म दर्शन गर्ने श्रद्धालुको कुल सङ्ख्या ७८ हजार नाघेको छ। नामसाईमा २० नोभेम्बरसम्म बिहान ६ बजीदेखि साँझ ४ बजीसम्म पवित्र अस्थीको दर्शन गर्न सकिनेछ।
केन्द्रिय संस्कृति मन्त्रालयका अनुसार, नामसाईमा १४ र १५ नोभेम्बरमा १२ हजारभन्दा बढी श्रद्धालुले पवित्र अस्थीको दर्शन गरेका छन्। यसअघि तवाङमा ३१ हजारभन्दा बढी तथा बोमडिलामा ३५ हजारभन्दा बढी श्रद्धालु प्रदर्शनीमा सहभागी भएका थिए। नामसाईमा आयोजित प्रदर्शनी अरुणाचल प्रदेशमा भगवान् बुद्धका पवित्र अस्थीको तेस्रो तथा अन्तिम चरणको प्रदर्शनी हो। यो कार्यक्रम ३१ अक्टोबरदेखि २१ नोभेम्बरसम्म सञ्चालन भइरहेको छ।
पवित्र अस्थी १४ नोभेम्बरमा नामसाई पुर्याइएपछि गोल्डेन प्यागोडा (कोङमु खाम) मा विधिवत् स्थापना गरिएको थियो। अरुणाचल प्रदेशका राज्यपाल लेफ्टिनेन्ट जनरल कैवल्य त्रिविक्रम परनाइक (सेवानिवृत्त) ले उपमुख्यमन्त्री चाउना मेन तथा अन्तरराष्ट्रिय बौद्ध महासङ्घका महानिर्देशक राघव प्रसाद भटनागरको उपस्थितिमा प्रदर्शनीको उद्घाटन गरेका थिए। यस अवसरमा राज्यका मन्त्री, जनप्रतिनिधि, बौद्ध भिक्षु तथा अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए।
श्रद्धालुहरूको सुविधाका लागि जिल्ला प्रशासनले क्षेत्रगत दर्शन कार्यक्रम सार्वजनिक गरेको छ। यसअनुसार, १६ नोभेम्बरमा लाथाओ र नामसाई सर्कलका तथा १७ नोभेम्बरमा पियोङ र लेकाङ सर्कलका श्रद्धालुहरूका लागि दर्शनको व्यवस्था गरिएको छ। १८ नोभेम्बरमा चाङलाङ, जयरामपुर, बोर्डुमसा, मियाओ, दियुन, तिराप र लङडिङका श्रद्धालुहरूले दर्शन गर्न सक्नेछन्।
त्यसैगरी, १९ नोभेम्बरमा मेचुका, तुतिङ, गेलिङ, तेजु, अञ्जाव (मेयोर), लोअर दिबाङ भ्यालीका साथै सुरक्षाकर्मीहरूका लागि दर्शनको व्यवस्था गरिएको छ। २० नोभेम्बरमा असम र पूर्वोत्तरका अन्य राज्यका श्रद्धालुहरू तथा अघिल्ला दिनमा दर्शन गर्न नसकेकाहरूले पवित्र अस्थीको दर्शन गर्न सक्नेछन्।
मन्त्रालयका अनुसार, पवित्र अस्थी नयाँ दिल्लीस्थित राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित राखिएका छन्। यी अस्थी उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लास्थित पिपरहवाबाट प्राप्त भएका थिए। उक्त स्थल प्राचीन कपिलवस्तु र शाक्य परम्परासँग सम्बन्धित छ। यी अस्थीको ऐतिहासिक, पुरातात्त्विक तथा आध्यात्मिक महत्त्व रहेको छ। अरुणाचल प्रदेशमा १३ वर्षको अन्तरालपछि यी पवित्र अस्थिधातुको प्रदर्शनी आयोजना गरिएको हो।
तवाङमा ३१ अक्टोबरदेखि ७ नोभेम्बरसम्म गादेन नामग्याल ल्हात्से गुम्बामा प्रदर्शनी आयोजना गरिएको थियो। त्यसपछि ८ देखि १३ नोभेम्बरसम्म बोमडिलास्थित थुबचोग गत्सेल लिङ गुम्बामा श्रद्धालुहरूले अस्थीको दर्शन गरेका थिए। तवाङ र बोमडिलामा क्रमशः महायान तथा वज्रयान बौद्ध परम्पराको प्रभाव रहेको छ भने नामसाई थेरवाद बौद्ध सम्पदाको प्रमुख केन्द्र हो।
गोल्डेन प्यागोडाको ध्यान केन्द्रमा राष्ट्रिय सङ्ग्रहालय र अन्तरराष्ट्रिय बौद्ध महासङ्घको तर्फबाट दुईवटा विशेष प्रदर्शनीसमेत आयोजना गरिएका छन्। पहिलो प्रदर्शनी ‘अनअर्थिङ द सेक्रेड पिपरहवा: द स्टोरी अफ द होली बुद्धा रेलिक्स एन्ड देयर डिस्कभरी’ मार्फत पिपरहवाको खोज, पुरातात्त्विक उत्खनन तथा पवित्र अस्थीको इतिहास प्रस्तुत गरिएको छ। यसमा पिपरहवाबाट प्राप्त बहुमूल्य रत्नहरूको सङ्ग्रह भारत फर्काइएको विषयसमेत समेटिएको छ। उक्त सङ्ग्रह एक शताब्दीभन्दा बढी समयपछि सन् २०२५ मा भारत फर्काइएको थियो।
दोस्रो प्रदर्शनी ‘क्रसरोड्स अफ धम्मा: क्लासिकल लेगेसीज, लिभिङ आर्ट एन्ड एन्थ्रोपोलोजिकल पर्सपेक्टिभ्स’ बौद्ध कला, संस्कृति तथा जीवन्त परम्परामा केन्द्रित छ।
यो प्रदर्शनी केन्द्रिय संस्कृति मन्त्रालय, अरुणाचल प्रदेश सरकार, राष्ट्रिय सङ्ग्रहालय तथा नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय बौद्ध महासङ्घको सहकार्यमा आयोजना भइरहेको छ। २० नोभेम्बरमा नामसाईमा दर्शन कार्यक्रम सम्पन्न भएपछि २१ नोभेम्बरमा पवित्र अस्थिधातुलाई नयाँ दिल्लीस्थित राष्ट्रिय सङ्ग्रहालयमा फिर्ता लैजाने कार्यक्रम रहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी