रक्षामन्त्री राजनाथ सिंह १८-१९ नोभेम्बरमाथद जापान भ्रमणमा जाने, जापानी समकक्षसँग द्विपक्षीय वार्ता गर्ने
रक्षा मंत्री राजनाथ सिंह (फ़ाइल फोटो)


- टू प्लस टू वार्तामा द्विपक्षीय रणनीतिक तथा रक्षा सहयोगका सबै पक्षको समीक्षा गरिने

नयाँ दिल्ली, १७ नोभेम्बर (हि.स.)। रक्षामन्त्री राजनाथ सिंह १८ देखि १९ नोभेम्बरसम्म जापानको आधिकारिक भ्रमणमा जाने भएका छन्। यस क्रममा उनले जापानका विदेश तथा रक्षामन्त्री स्तरीय ‘टू प्लस टू’ वार्ताको चौथो संस्करणमा भाग लिनेछन्। साथै जापानका रक्षामन्त्रीसँग द्विपक्षीय छलफल समेत गर्नेछन्। उक्त वार्तामा द्विपक्षीय रणनीतिक तथा रक्षा सहयोगका सबै पक्षको समीक्षा गरिनुका साथै क्षेत्रीय तथा विश्वव्यापी घटनाक्रमबारे विचार आदान-प्रदान गरिनेछ।

रक्षामन्त्री राजनाथ सिंह र विदेश मन्त्री डा. एस. जयशंकरले जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमी तथा विदेश मन्त्री तोशिमित्सु मोतेगीसँग मिलेर टोकियोमा आयोजना हुने यस टू प्लस टू मन्त्री स्तरीय वार्ताको सह-अध्यक्षता गर्नेछन्। वार्तामा द्विपक्षीय रणनीतिक तथा रक्षा सहयोगका सबै पक्षको समीक्षा गरिनेछ। साथै, क्षेत्रीय तथा विश्वव्यापी घटनाक्रमबारे विचार आदान-प्रदान गर्दै स्वतन्त्र, खुला, समावेशी तथा नियममा आधारित हिन्द-प्रशान्त क्षेत्रप्रतिको दुवै देशको साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरिनेछ।

रक्षामन्त्री राजनाथ सिंह र जापानका रक्षा मन्त्रीबीच हुने द्विपक्षीय वार्ता यस वर्षको तेस्रो बैठक हुनेछ। दुवै मन्त्रीले अगस्तमा नयाँ दिल्लीमा भएको वार्ता तथा अक्टोबरमा सेबुमा आयोजित ‘आसियान रक्षामन्त्री बैठक-प्लस’ का क्रममा भएका छलफललाई निरन्तरता दिँदै रक्षा उपकरण तथा प्रविधिमा सहयोग, समुद्री सुरक्षा, तीनवटै सुरक्षा बलका संयुक्त सैन्य अभ्यासको दायरा र जटिलता विस्तार गर्ने तथा औद्योगिक साझेदारीलाई थप सुदृढ़ बनाउने विषयमा विचारविमर्श गर्नेछन्।

भारत र जापानबीच साझा लोकतान्त्रिक मूल्य, पारस्परिक विश्वास तथा समान रणनीतिक हितमा आधारित विशेष रणनीतिक एवं विश्वव्यापी साझेदारी कायम छ। रक्षामन्त्रीको यस भ्रमणको उद्देश्य द्विपक्षीय रक्षा सम्बन्धलाई थप सुदृढ़ बनाउनुका साथै दुवै देशबीच सञ्चालनगत तथा औद्योगिक समन्वय अभिवृद्धिका लागि रूपरेखा तयार गर्नु रहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande