
नयाँ दिल्ली, १९ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिवार देशका उद्योगहरूलाई विकसित र आत्मनिर्भर भारतको लक्ष्यसँग जोड़िन आह्वान गर्दै अब भारतीय उद्योगहरूले आगामी २० वर्षमा के हासिल गर्न सक्छन् भन्ने विषयमा निर्णय गर्ने समय आएको बताएका छन्। यसका लागि उनीहरूले आफ्नो दीर्घकालीन लगानी सम्बन्धी निर्णयमा ‘भारत प्रथम’ भन्ने सोचलाई आधार बनाउनुपर्ने उनले बताए। देश आत्मनिर्भर बनेपछि व्यापारका नयाँ अवसरहरू खुल्ने पनि उनले उल्लेख गरे।
यस सन्दर्भमा प्रधानमन्त्रीले साल १९३० मा महात्मा गान्धीले भनेको कुरालाई उद्धृत गर्दै भने, “१०० वर्ष भइसकेको छ... तर साल १९३० मा गान्धीजीले यही कुरा भनेर गएका थिए र आज यति वर्षपछि मैले पनि यही कुरा भन्नुपरिरहेको छ। मेरो कुरा नमान, कम्तीमा गान्धीजीको त मान। उनले पनि स्वदेशी र आत्मनिर्भर भारतको कुरा भनेर गएका थिए। मेरो यो कुरालाई पनि घरघरमा पुर्याऊ!”
प्रधानमन्त्री मोदीले बिहिवार दिल्ली स्थित भारत मण्डपमा उद्योग सङ्घ (फिक्की) को वार्षिक साधारणसभा तथा वार्षिक सम्मेलनको उद्घाटन गरे। यस अवसरमा प्रधानमन्त्रीले उद्योग जगतले भारतमा नै निर्माण तथा उत्पादन गर्न सकिने विभिन्न औद्योगिक सामग्री र घटकहरूबारे विचार गर्नुपर्ने बताए। यस सन्दर्भमा उनले औषधि उद्योगको उदाहरण दिए। उनले भने, भारतलाई विश्वमा ‘फार्मेसी अफ द वर्ल्ड’ अर्थात् विश्वको औषधालय भनिन्छ। त्यसका बाबजुद भारतले प्रत्येक वर्ष एपीआई, बल्क ड्रग्स र ड्रग्स इन्टरमिडिएट्सका लागि अरबौं डलर खर्च गरेर आयात गर्ने गरेको छ।
उनले भने, “यस्ता सयौँ श्रेणीहरू छन्, जसमा हामी आज आयातमा निर्भर छौँ। हाम्रो औषधि उद्योगले भारतमै उत्पादन गर्न सकिने सामग्रीहरू कुन-कुन हुन् भन्ने बुझ्नुपर्छ। कुन-कुन क्षेत्रमा नयाँ प्रविधि र ठूला उत्पादन केन्द्रहरूमा लगानी गरेर हामी अन्य देशहरूसँग प्रतिस्पर्धी बन्न सक्छौँ?”
प्रधानमन्त्रीले उद्योग जगतलाई भारतको कृषि क्षेत्रमा आफ्नो लगानी बढ़ाउन आग्रह गरे। उनले विशेष विदेशी बजारलाई ध्यानमा राखेर भरपर्दो खरिद तथा आपूर्ति व्यवस्था निर्माण गर्नुपर्ने र ती बजारमा माग भएका उत्पादनहरू बनाउनुपर्ने बताए, ताकि भारतीय उत्पादनहरू विश्वमा भारतको पहिचान बन्न सकून्।
फिक्कीले आफ्नो स्थापनाको १०० वर्ष पूरा गरेको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले कुनै पनि संस्थाले १०० वर्षसम्म निरन्तर सचेत र सक्रिय रहनु, बदलिँदो समयसँगै आफूलाई अगाड़ी बढ़ाउनु र देशको आर्थिक यात्रामा आफ्नो भूमिका निर्वाह गरिरहनु ठूलो उपलब्धि भएको बताए।
विगत १०० वर्षको भारतीय अर्थव्यवस्थाको यात्राको चर्चा गर्दै उनले पछिल्ला १२ वर्षमा देशले सामूहिक प्रयासबाट धेरै उपलब्धि हासिल गरेको बताए। आज भारतमा विकासको गति निकै तीव्र रहेको र गरीबीबाट बाहिर निस्कने दर पनि उत्तिकै तीव्र रहेको उनले उल्लेख गरे। विश्व ब्याङ्कको हालै सार्वजनिक भएको प्रतिवेदनले सबैलाई गर्व महसुस गराएको बताउँदै उनले उक्त प्रतिवेदन अनुसार केवल १२-१३ वर्षको अवधिमा भारतका ५० करोड़ मानिसले गरीबीलाई पराजित गरेको बताए।
उनले फिक्की पनि यस परिवर्तनको साक्षी रहेको उल्लेख गर्दै भारत आज जुन दिशामा अघि बढ़िरहेको छ, त्यो सही र सटीक रहेको तथा यसमा देशको सफलताको सुनिश्चितता रहेको बताए।
हिन्दुस्थान समाचार / भवानी थामी