निर्वाचन बहिष्कार गर्दा जनताको लोकतन्त्रमाथिको विश्वास गुम्नेछ : राहुल गान्धी
Rahul Gandhi


नयाँ दिल्ली, १९ नोभेम्बर (हि.स.)। कांग्रेस नेता राहुल गान्धीले मत चोरीको मुद्दालाई लिएर विपक्षी दलहरूले निर्वाचन बहिष्कार गर्न नहुने बताएका छन्। निर्वाचन बहिष्कार गरे जनताको लोकतन्त्रमाथिको विश्वास समाप्त हुने र भारतीय जनता पार्टी (भाजपा) ले पनि यही चाहेको उनको भनाइ छ।

बिहीबार शिकागो विश्वविद्यालयमा ‘इरान युद्ध र विश्वमा भारतको भूमिका’ विषयमा आयोजित संवाद कार्यक्रममा सहभागी हुँदै उनले निर्वाचनको माध्यमबाटै विपक्षले आफ्नो संघर्ष जारी राख्ने बताए। उनले यो लडाइँ सत्ताका लागि नभई संविधानको रक्षाका लागि भएको उल्लेख गरे।

राहुलले जनताको लोकतान्त्रिक विश्वास जोगाउन विपक्ष निर्वाचनमा सहभागी भइरहने र प्रत्येक मतका लागि संघर्ष गर्ने बताए। साथै, जनताले निर्भय भएर आफ्नो विचार व्यक्त गर्न सक्ने वातावरण पुनः स्थापित गर्नुपर्नेमा जोड दिए।

उनले भने, “बारम्बार यो प्रश्न उठ्ने गर्छ- भाजपा र निर्वाचन आयोगको मत चोरीविरुद्ध विपक्षले निर्वाचन बहिष्कार किन गर्दैन? यसको जवाफ स्पष्ट छ- हाम्रा लागि भारतको लोकतन्त्र सबैभन्दा पवित्र छ। जुन दिन विपक्षले निर्वाचन लड्न छोड्छ, त्यस दिन जनताको लोकतन्त्रमाथिको विश्वास नै समाप्त हुनेछ र भाजपा पनि यही चाहन्छ। हामी यो विश्वास टुट्न दिनेछैनौँ। हामी हरेक चोट सहनेछौँ, प्रत्येक मतका लागि लड्नेछौँ र हरेक सत्य देशसामु राख्नेछौँ। यो लडाइँ सत्ताका लागि नभई संविधानका लागि हो। यसको रक्षाका लागि हामी मैदानमा थियौँ, छौँ र रहनेछौँ।”

राहुलले आफ्नो सबैभन्दा ठूलो शक्ति अर्थात् जनताले कुनै डरबिना आफ्नो विचार व्यक्त गर्न सक्ने क्षमतालाई पुनः जागृत गराउने र यसलाई एक प्रमुख शक्तिका रूपमा कायम राख्ने सुनिश्चित गरिने बताए।

यस क्रममा राहुल गान्धीले आतंकवाद रहँदासम्म पाकिस्तानसँग वार्ता नगर्ने भारत सरकारको नीतिलाई दोहोर्‍याए। एक पाकिस्तानी विद्यार्थीको प्रश्नको जवाफ दिँदै उनले भारत र पाकिस्तानबीचको सम्बन्धमा आतंकवादलाई समर्थन र प्रोत्साहन गर्नु सबैभन्दा ठूलो समस्या रहेको बताए। निर्दोष नागरिकको हत्या सहनुका साथै पाकिस्तानसँग वार्ता गर्नु असम्भव रहेको उल्लेख गर्दै उनले आतंकवाद रोकिएको क्षणदेखि मात्र वार्ता सुरु हुन सक्ने बताए।

इजरायलका सम्बन्धमा राहुलले उक्त देशसँग राम्रो सम्बन्ध कायम राख्ने कुराको आफू पूर्ण समर्थनमा रहेको बताए। तर भारतले विश्वव्यापी मञ्चमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने र आफ्नो प्रभाव प्रदर्शन गर्नुपर्ने उनको भनाइ थियो। यसलाई कसैले रोक्न नहुने बताउँदै उनले भारत आफ्ना सिद्धान्तमा अडिग रहनुपर्ने उल्लेख गरे।

उनले अक्टोबरमा भएका घटनाक्रमको कडा निन्दा गर्दै ती अत्यन्तै भयावह रहेको बताए। साथै, गाजामा इजरायलले गरेका कार्यहरूको पनि आफू कडा निन्दा गर्ने उनले बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande