
कोलकाता, १९ नोभेम्बर (हि.स.)। तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्राले बिहिवार आरोप लगाएकी छन् कि नदिया जिल्लाको कालीगञ्जमा भारतीय जनता पार्टी (भाजपा) समर्थकहरूको एउटा समूहले उनको गाड़ी र काफिलामाथि ढुङ्गा तथा अण्डा प्रहार गरेको छ। पश्चिम बङ्गालको कृष्णनगरबाट लोकसभा सांसद रहेकी उनले कलकत्ता उच्च न्यायालयको आदेश हुँदाहुँदै पनि आफ्नो सुरक्षा सुनिश्चित गर्न राज्य पुलिस असफल भएको आरोप लगाएकी छन्।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समा महुआ मोइत्राले दाबी गरे अनुसार, उनीमाथि आक्रमण गर्न गोबरा ग्राम पञ्चायत क्षेत्रमा ८० देखि ९० जना भाजपा समर्थक भेला भएका थिए। यस जमघटबारे पुलिसलाई पहिल्यै पूर्ण जानकारी रहेको उनको आरोप छ। पश्चिम बङ्गाल पुलिस, राज्यका पुलिस महानिदेशक तथा कृष्णनगर पुलिस जिल्लालाई सम्बोधन गर्दै उनले कलकत्ता उच्च न्यायालयको आदेश अनुसार आफ्नो सुरक्षा गर्नु पुलिसको जिम्मेवारी भएको र सबै जानकारी हुँदाहुँदै पनि भाजपा समर्थकहरू आक्रमणका लागि त्यहाँ उपस्थित रहेको लेखेकी छन्।
सांसदले पश्चिम बङ्गाल पुलिसमाथि भाजपा समर्थकहरूसँग मिलेमतो गरेको आरोप लगाउँदै यसलाई अदालतको अवहेलना भनेकी छन्। आफ्नो पोस्टमा उनले सर्वोच्च न्यायालयका न्यायाधीश दीपाङ्कर दत्ता, मुख्य न्यायाधीश सूर्यकान्त तथा कलकत्ता उच्च न्यायालयका मुख्य न्यायाधीशको उल्लेख गर्दै आफ्नो सुरक्षाका लागि आदेश दिइएको पुलिसले नै भाजपासँग मिलेर आफूमाथि आक्रमण हुन दिएको अवस्थामा यो अदालतको अवहेलना हुने बताएकी छन्। उनले तुषार मेहताको नाम उल्लेख गर्दै अदालतमा उभिएर यसलाई सही ठहर्याउने प्रयास नगर्न समेत भनेकी छन्।
अर्को पोस्टमा तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्राले सबै जानकारी पुलिसलाई दिइसक्दा पनि प्रदर्शनकारीहरूलाई आफ्नो कार्यक्रम अवरुद्ध गर्न र पुलिस सुरक्षामा रहेको काफिलामाथि आक्रमण गर्न अनुमति दिइएको आरोप लगाएकी छन्।
घटनास्थलबाट सार्वजनिक भएका दृश्यहरूमा सांसदको काफिला उक्त क्षेत्रबाट गुज्रिरहेको समयमा प्रदर्शनकारीहरूले कालो झण्डा देखाउँदै 'फिर्ता जाऊ' भन्ने नारा लगाइरहेको देखिएको छ। यद्यपि, यी आरोपहरूमाथि पुलिस वा भाजपाका तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।
/ बिशाल