
काठमाडौँ, २२ नोभेम्बर (हि.स.)। नेपालको प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने भारत भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगे। त्यहाँ पुग्दा केन्द्रिय वाणिज्य तथा उद्योग एवं इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री जितिन प्रसादले उनको स्वागत गरे। प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो। यस क्रममा उनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता हुनेछ।
नेपालमा नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री मोदीले शाहलाई भारत भ्रमणको निमन्त्रणा दिएको थियो, जसलाई नेपाली पक्षले स्वीकार गरेको थियो। दुवै नेताबीच टेलिफोन वार्ता तथा सामाजिक सञ्जालमार्फत सन्देश आदानप्रदान भइसकेको छ। यस भ्रमणका क्रममा पहिलोपटक दुवै नेताबीच प्रत्यक्ष भेटवार्ता हुनेछ।
भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले विभिन्न परियोजनाको भर्चुअल माध्यमबाट उद्घाटन गर्नुका साथै केही नयाँ परियोजनाको शिलान्यास गर्न सक्ने सम्भावना छ। विभिन्न क्षेत्रमा सहयोगसँग सम्बन्धित दूरगामी महत्त्वका धेरै द्विपक्षीय दस्तावेजमा हस्ताक्षर तथा आदानप्रदान गर्ने कार्यक्रम पनि प्रस्तावित छ। दुवै नेताबीचको वार्ताले आगामी वर्षहरूमा भारत-नेपाल साझेदारीलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ। विकास साझेदारी, ऊर्जा, जलविद्युत्, रेलमार्ग, सम्पर्क सञ्जाल, पूर्वाधार, प्रविधि, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा सहयोग वार्ताका प्रमुख विषय रहनेछन्।
भारत र नेपालबीचको सम्बन्ध पारस्परिक विश्वास, खुला सीमा, साझा परम्परा तथा जनस्तरमा रहेको निकट सम्पर्कमा आधारित छ। पछिल्लो करिब एक दशकमा दुवै देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको स्तरमा १७ वटा द्विपक्षीय भ्रमण भइसकेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले २०१४ पछि पाँच पटक नेपालको भ्रमण गरिसकेका छन्। विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्न दुवै देशबीच ४० भन्दा बढी संस्थागत संयन्त्र पनि क्रियाशील छन्।
भारत नेपालको सबैभन्दा ठूलो व्यापार, पारवहन तथा लगानी साझेदार हो। नेपालले भारतीय बजारमा भन्सार शुल्कबिनाको पहुँच प्राप्त गरेको छ र नेपालको कुल वस्तु निर्यातको करिब ८० प्रतिशत भारतमा हुने गरेको छ। नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानीको करिब एकतिहाई भारतबाट आउने गरेको छ। विकास साझेदारीअन्तर्गत भारतको सहयोगमा नेपालका ७४ जिल्लामा ६०० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालनमा छन्। यी परियोजनाहरूको कुल लागत १ हजार ६६२ करोड नेपाली रुपियाँभन्दा बढी रहेको छ।
ऊर्जा तथा जलविद्युत् क्षेत्रमा पनि दुवै देशबीचको सहयोग विस्तार भएको छ। दीर्घकालीन विद्युत् व्यापार सम्झौताअन्तर्गत १० वर्षमा नेपालबाट भारतले १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने परिकल्पना गरिएको छ। भारतले हाल नेपालबाट वार्षिक करिब १ हजार २०० मेगावाट विद्युत् आयात गरिरहेको छ। आर्थिक वर्ष २०२५-२६ मा भारतमा विद्युत्को खुद निर्यातबाट नेपालले करिब १ हजार ८०० करोड नेपाली रुपियाँ राजस्व प्राप्त गरेको थियो। नोभेम्बर २०२४ देखि नेपालले भारतीय विद्युत् ग्रिडमार्फत बंगलादेशलाई पनि विद्युत् निर्यात गर्दै आएको छ। भारतीय कम्पनीहरू नेपालमा ९०० मेगावाट क्षमताको अरुण-३ जलविद्युत् परियोजनासहित विभिन्न परियोजनाको विकासमा संलग्न छन्।
दुवै देशबीच सडक, रेल तथा ऊर्जा सम्पर्क सञ्जालको पनि विस्तार भइरहेको छ। भारतको सहयोगमा जयनगर-कुर्था-बिजलपुरा तथा जोगबनी-नेपाल कस्टम यार्ड, विराटनगर रेल सम्पर्क सञ्जाल विकास गरिएको छ। रक्सौल-काठमाडौँ रेल सम्पर्कको सम्भावनाबारे पनि छलफल जारी छ। अयोध्या र जनकपुरधामबीच नयाँ यात्रुवाहक रेल सेवा सुरु गर्ने तयारी भइरहेको छ। यस मार्गको परीक्षण नोभेम्बर ५ मा गरिएको थियो। यसबाट धार्मिक पर्यटन तथा दुवै देशका नागरिकबीचको सम्पर्कलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
भारत र नेपालबीच डिजिटल भुक्तानी, प्रविधि तथा सुरक्षा क्षेत्रमा पनि सहयोग विस्तार भइरहेको छ। २०२४ देखि भारतको यूपीआई र नेपालको फोनपेबीच अन्तरसञ्चालन सुविधा उपलब्ध छ। हालै यूपीआई र नेपालको राष्ट्रिय भुक्तानी इन्टरफेसबीच व्यक्तिबीच प्रत्यक्ष भुक्तानीको सुविधा पनि शुरु गरिएको छ। दुवै देशले भाषा कृत्रिम बुद्धिमत्ता तथा डिजिटल सार्वजनिक पूर्वाधारका क्षेत्रमा पनि मिलेर काम गरिरहेका छन्। जून २०२६ मा डिजिटल इन्डिया भाषिणी र काठमाडौँ विश्वविद्यालयबीच ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद मञ्चका लागि सम्झौता भएको थियो। रक्षा तथा सुरक्षा क्षेत्रमा दुवै देशबीच तालिम, संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ तथा सीमापार अपराध, लागुऔषध तस्करी र सम्पत्ति शुद्धीकरण रोकथामका क्षेत्रमा सहयोग जारी छ।
२०१५ को गोरखा भूकम्पपछि नेपालमा पुनर्निर्माण कार्यअन्तर्गत भारतले ५० हजार घर, ७१ शैक्षिक परियोजना, १२८ स्वास्थ्य सुविधा तथा २१ सांस्कृतिक परियोजनाको निर्माणमा सहयोग गरेको थियो। २६ अगस्त, २०२६ मा आएको बाढीपछि भारतले नेपाललाई करिब १४० टन आपतकालीन राहत सामग्री उपलब्ध गराउनुका साथै सुरुङ उद्धार तथा विधि विज्ञानसम्बन्धी गतिविधिमा प्राविधिक सहयोग पनि प्रदान गरेको थियो। जलवायु परिवर्तन तथा प्राकृतिक विपद्को सामना गर्न सहयोग विस्तार गर्ने दिशामा पनि दुवै देशले काम गरिरहेका छन्।
शिक्षा, संस्कृति तथा खेलकुद क्षेत्रमा पनि दुवै देशबीच सहयोगका विभिन्न कार्यक्रम सञ्चालनमा छन्। भारत सरकारले नेपाली नागरिकलाई विद्यालय तहदेखि विद्यावारिधि तहसम्म वार्षिक १ हजार ५०० छात्रवृत्ति प्रदान गर्दै आएको छ। आर्थिक वर्ष २०१४-१५ देखि अहिलेसम्म नेपालका २ हजार ६०० भन्दा बढी व्यावसायिक व्यक्ति, अधिकारी तथा सुरक्षाकर्मीले भारतीय प्राविधिक तथा आर्थिक सहयोग (आईटीईसी) कार्यक्रमअन्तर्गत तालिम प्राप्त गरेका छन्। भारत नेपालका लागि सबैभन्दा ठूलो विदेशी पर्यटक स्रोत पनि हो। नेपालको पछिल्लो आर्थिक वर्षमा हवाई मार्गबाट ३ लाख ११ हजार भारतीय पर्यटक नेपाल पुगेका थिए। दुवै देशले रामायण तथा बौद्ध परिपथजस्ता साझा पर्यटन मार्गलाई पनि प्रोत्साहन दिइरहेका छन्।
हिन्दुस्थान समाचार / बिशाल