
गान्तोक, 23 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज रेशिथाङस्थित खेल गाउँमा आयोजित चौथो एनटीपीसी राष्ट्रिय वरीयता आर्चरी प्रतियोगिता २०२६ को दोस्रो दिनको कार्यक्रममा सहभागी बने। प्रतियोगिताअन्तर्गत वरिष्ठ रिकर्भ र कम्पाउन्ड विधाका व्यक्तिगत प्रतिस्पर्धा तथा पदक खेलहरू सम्पन्न भए।
भारतीय आर्चरी सङ्घले सिक्किम आर्चरी सङ्घको सहकार्यमा आयोजना गरेको उक्त प्रतियोगिता २१ देखि ३० नोभेम्बरसम्म गान्तोकमा सञ्चालन भइरहेको छ। यसमा देशभरिका खेलाडीहरूले सिनियर, जुनियर तथा सब-जुनियर विधामा प्रतिस्पर्धा गरिरहेका छन्।
२२ नोभेम्बरमा सम्पन्न छनोट चरणपछि आज वरिष्ठ पुरुष तथा महिला रिकर्भ र कम्पाउन्ड विधाका व्यक्तिगत नकआउट चरण तथा पदक प्रतिस्पर्धा सम्पन्न भए।
वरिष्ठ रिकर्भ पुरुष विधामा सर्भिसेस स्पोर्ट्स कन्ट्रोल बोर्डका धीरज बोम्मादेवराले प्रथम स्थान हासिल गरे। पेट्रोलियम स्पोर्ट्स कन्ट्रोल बोर्डका अतनु दास दोस्रो तथा सिक्किमका तरुणदीप राई तेस्रो भए।
वरिष्ठ रिकर्भ महिला विधामा गुजरातकी भागोरा भार्गवी वर्गिशकुमारले प्रथम स्थान हासिल गरिन्। पेट्रोलियम स्पोर्ट्स कन्ट्रोल बोर्डकी दीपिका कुमारी दोस्रो तथा झारखण्डकी अङ्किता भक्त तेस्रो भइन्।
वरिष्ठ कम्पाउन्ड पुरुष विधामा दिल्लीका प्रियांशले प्रथम स्थान हासिल गरे। अखिल भारतीय पुलिस खेलकुद नियन्त्रण बोर्डका रजत चौहान दोस्रो तथा दिल्लीका अभिषेक वर्मा तेस्रो भए।
वरिष्ठ कम्पाउन्ड महिला विधामा दिल्लीकी कुमुद सैनीले प्रथम स्थान हासिल गरिन्। महाराष्ट्रकी पूर्वा बोकाडे दोस्रो तथा उत्तर प्रदेशकी सान्दिया तेस्रो भइन्।
मुख्यमन्त्री तामाङले विजेता खेलाडीहरूलाई परम्परागत खादासहित स्मृतिचिह्न प्रदान गरी सम्मानित गरे। मुख्यमन्त्रीको उपस्थितिले राज्यमा खेलकुद गतिविधि तथा आर्चरीको प्रवर्द्धनलाई दिइएको महत्त्वलाई प्रतिबिम्बित गरेको छ।
यस प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा महत्त्वपूर्ण वरीयता अङ्क हासिल गर्ने अवसरसमेत प्रदान गरेको छ। प्रतियोगिता आगामी दिनहरूमा पनि रेशिथाङस्थित खेल गाउँमा जारी रहने बताइएको छ। बाँकी जुनियर तथा सब-जुनियर विधाका प्रतिस्पर्धाहरू आगामी दिनमा सञ्चालन हुनेछन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल