
धुबरी (असम), २४ नोभेम्बर (हि.स.)। जिल्लाको बिलासीपारा शहरमा प्रतिबन्धित जुवा खेल्ने विरुद्ध पुलिसले गए राति कड़ा कारबाही गरेको छ।
यस कारबाहीका क्रममा शहरको सात नम्बर वार्ड स्थित कुकुरिपाराबाट गए राति १२ जनालाई पक्राउ गरिएको छ। प्रतिबन्धित जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पुलिसले नियन्त्रणमा लिएको हो। लामो समयदेखि कुकुरिपारा क्षेत्रमा केही व्यक्तिहरूले खुलेआम प्रतिबन्धित जुवा खेल्ने गरेको बताइएको छ। जुवाका कारण क्षेत्रमा विभिन्न असामाजिक गतिविधि बढ़ेको भन्दै गुनासाहरू आउने गरेका थिए।
जुवा तथा असामाजिक गतिविधि रोक्ने उद्देश्यले बिलासीपारा पुलिसले यो अभियान सञ्चालन गरेको हो। शहरको सात नम्बर वार्ड स्थित कुकुरिपारामा पुलिसले चलाएको अभियानका क्रममा पक्रा परेका व्यक्तिहरूको पहिचान रमजान अली, खैबर अली, मनीक शेख, रफीकुल रहमान, अबुल हसन, यासिन अली, सामाद अली, मुक्तार अली, कालू शेख, निर्मल दास, इस्माइल शेख र जाहिदुल अलीका रूपमा गरिएको छ। पक्रा परेका जुवाड़ेहरूबाट पुलिसले नगद रकम र तासका धेरै पत्ती समेत जफत गरेको छ।
उल्लेखनीय छ, पक्रा परेका सबै जुवाड़े बिलासीपारा सहरको कुकुरिपारा क्षेत्रका बासिन्दा रहेको बताइएको छ। पुलिसले यस मामिलामा थप कारबाही जारी राखेको छ।
/ बिशाल