
पाकिम, 24 नोभेम्बर (हि.स.)। सिक्किममा प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा पाँच दशकदेखि योगदान पुर्याउँदै आएको सरकारी औद्योगिक प्रशिक्षण संस्थान (जीआईटीआई), रम्फूले स्थापनाको ५०औँ वर्ष पूरा गरेको अवसरमा आजदेखि स्वर्ण जयन्ती समारोह शुरु गरेको छ।
कार्यक्रममा भूमि राजस्व तथा आपदा प्रबन्धन विभागका सल्लाहकार एवं विधायक एलबी दास प्रमुख अतिथिका रूपमा उपस्थित थिए। यसैगरी, सीप विकास विभाग तथा यातायात विभागका सल्लाहकार एवं विधायक मदन सिञ्चुरीको पनि विशेष उपस्थिति रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि दासले विगत पाँच दशकदेखि प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा संस्थाले पुर्याउँदै आएको योगदानको प्रशंसा गरे। उनले युवाहरूलाई सीपमूलक तालिम प्रदान गर्नुका साथै राज्यको आवश्यकताअनुरूप दक्ष जनशक्ति तयार पार्न संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
उनले युवाहरूलाई परम्परागत शिक्षासँगै व्यावहारिक ज्ञान, प्राविधिक दक्षता तथा नवीनतम प्रविधिसम्बन्धी सीप हासिल गर्न प्रोत्साहित गरे। यस्ता दक्षताले रोजगारीका अवसर विस्तार गर्नुका साथै आत्मनिर्भर बन्न र विभिन्न व्यावसायिक क्षेत्रमा भविष्य निर्माण गर्न सहयोग पुर्याउने उनले बताए।
यसैगरी, बदलिँदो औद्योगिक प्रवृत्ति तथा श्रम बजारको आवश्यकताअनुरूप संस्थाले आफ्ना प्रशिक्षण कार्यक्रमलाई निरन्तर अद्यावधिक गर्दै लैजानुपर्नेमा उनले जोड दिए। प्रशिक्षक, कर्मचारी तथा प्रशिक्षार्थीहरूको सामूहिक प्रयासले संस्थालाई अझ आधुनिक, प्रतिस्पर्धी र उत्कृष्ट सीप विकास केन्द्रका रूपमा स्थापित गर्न सकिने उनको भनाइ थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल