
- मुख्यमन्त्रीले नयाँ कानुनको प्रभावकारी कार्यान्वयन र नागरिकमैत्री न्याय प्रणालीमा दिए जोड
गान्तोक, २४ नोभेम्बर (हि.स.)। देशको आपराधिक न्याय प्रणालीलाई थप पारदर्शी, प्रविधिमैत्री, समयबद्ध तथा नागरिककेन्द्रित बनाउने उद्देश्यले गान्तोकस्थित चिन्तन भवनमा आजदेखि चारदिने ‘नव न्याय संहिता प्रदर्शनी’ शुरु भएको छ। २४ देखि २७ नोभेम्बर, २०२६ सम्म सञ्चालन हुने उक्त प्रदर्शनीको उद्घाटन सत्रमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित थिए।भारत सरकारको गृह मन्त्रालयको निर्देशन तथा मार्गदर्शनमा सिक्किम पुलिसद्वारा आयोजित प्रदर्शनीको उद्देश्य देशमा लागू गरिएका तीनवटा नयाँ आपराधिक कानुन तथा यसले न्याय प्रणालीमा ल्याएका महत्त्वपूर्ण परिवर्तनबारे सर्वसाधारणलाई जानकारी गराउनु रहेको छ।कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले भारतीय न्याय संहिता (बीएनएस), भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) तथा भारतीय साक्ष्य अधिनियम (बीएसए) बारे आम नागरिकमा व्यापक जनचेतना फैलाउनुपर्ने आवश्यकतामाथि जोड दिए। यी तीनवटा नयाँ कानुनले २०२४ मा क्रमशः भारतीय दण्ड संहिता, दण्ड प्रक्रिया संहिता तथा भारतीय साक्ष्य अधिनियमलाई प्रतिस्थापन गरेका हुन्।मुख्यमन्त्रीले नयाँ कानुनको प्रभावकारी कार्यान्वयनका लागि सरकारका विभिन्न निकाय, पुलिस, न्यायिक क्षेत्र तथा सर्वसाधारणबीच सक्रिय सहभागिता र समन्वय आवश्यक रहेको बताए। नयाँ कानुनी व्यवस्थाले नागरिककेन्द्रित, पारदर्शी, प्रविधिमा आधारित र निश्चित समयसीमाभित्र न्याय उपलब्ध गराउने प्रणाली स्थापित गर्ने लक्ष्य राखेको उनको भनाइ थियो।मुख्यमन्त्रीले शून्य प्राथमिकी (जिरो एफआईआर), वैज्ञानिक अनुसन्धान, विद्युतीय प्रमाण तथा ई-साक्ष्यजस्ता प्रविधिमा आधारित व्यवस्थाहरूको महत्त्व उल्लेख गर्दै नागरिकलाई आफ्ना कानुनी अधिकार र न्याय प्राप्त गर्ने उपलब्ध माध्यमबारे जानकारी हुनुपर्ने बताए।उनले नयाँ आपराधिक कानुन कार्यान्वयनमा सिक्किमले हासिल गरेको प्रगतिबारे जानकारी दिँदै राज्यका शतप्रतिशत पुलिसकर्मीले नयाँ कानुनी व्यवस्थासम्बन्धी तालिम प्राप्त गरिसकेको बताए। राष्ट्रिय मूल्याङ्कनमा सिक्किमले ३६ राज्य तथा केन्द्रशासित प्रदेशमध्ये १७औँ स्थान हासिल गरेको छ भने आठवटा पूर्वोत्तर राज्यबीच तेस्रो स्थान प्राप्त गरेको छ। राज्यले ८१.४६ अङ्क प्राप्त गरेको छ, जबकि राष्ट्रिय औसत ७७.४० रहेको छ।मुख्यमन्त्रीले अन्तर-सञ्चालनीय आपराधिक न्याय प्रणाली (आईसीजेएस), प्रशासनिक सुधार तथा सूचना एवं सञ्चार प्रविधिको क्षेत्रमा सिक्किमले २५ मध्ये २४.४१ अङ्क हासिल गरेको पनि जानकारी दिए। उनले अनुसन्धानसम्बन्धी समयसीमाको पालना गर्ने क्रममा ७३.६७ प्रतिशत मुद्दाको अनुसन्धान निर्धारित ६० दिनभित्र तथा ७८.१३ प्रतिशत मुद्दाको अनुसन्धान ९० दिनभित्र सम्पन्न भइरहेको बताए। यी उपलब्धिका लागि उनले सिक्किम पुलिस तथा सम्बन्धित विभागहरूको प्रयासको प्रशंसा गरे।उनले प्रदर्शनीमा १४ वटा जानकारीमूलक कक्ष राखिएको उल्लेख गर्दै विद्यार्थी, युवावर्ग तथा सर्वसाधारणलाई प्रदर्शनीको अवलोकन गरी नयाँ कानुनी व्यवस्थाबारे जानकारी लिन आग्रह गरे। पुलिस प्रशासनलाई नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिँदै उनले सर्वसाधारणका गुनासा तत्काल सम्बोधन गर्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने तथा पुलिसलाई नागरिकका लागि सहज पहुँचयोग्य र उत्तरदायी निकायका रूपमा स्थापित गर्नुपर्ने बताए। बढ्दो साइबर अपराध, डिजिटल गिरफ्तारीका नाममा हुने ठगी तथा अनलाइन आर्थिक अपराधप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्रीले साइबर अपराध नियन्त्रणका लागि जनचेतना अभिवृद्धि, जिल्ला तहमा समन्वय सञ्जालको सुदृढीकरण तथा प्रभावकारी रोकथामका उपाय अपनाउनुपर्ने बताए।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा सुनिश्चित गर्न विशेष कदम चाल्नुपर्ने उल्लेख गर्दै संवेदनशील वर्गमाथि हुने अपराधप्रति शून्य सहनशीलताको नीति अपनाउनुपर्ने उनले स्पष्ट पारे। उनले लागूपदार्थ दुर्व्यसन तथा ओसारपसार नियन्त्रणका सन्दर्भमा २०२९ सम्म लागूपदार्थमुक्त भारत निर्माण गर्ने राष्ट्रिय लक्ष्यलाई साकार पार्न सामूहिक प्रयास आवश्यक रहेको बताए। यसका लागि जनसहभागिता, सूचनाको समयमै आदानप्रदान तथा समन्वयात्मक कारबाहीसँगै प्रभावित व्यक्तिहरूको पुनर्स्थापना र सामाजिक पुनःएकीकरणलाई पनि महत्त्व दिनुपर्ने उनको भनाइ थियो।कार्यक्रमलाई मुख्य सचिव आर तेलाङ, पुलिस महानिर्देशक अक्षय सचदेव तथा डीआईजी रेन्ज तेन्जिङ लोडेन लेप्चाले पनि सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल