
नयाँ दिल्ली, २६ नोभेम्बर (हि.स.)। आम आदमी पार्टी (आप) ले बिहिवार आफ्नो स्थापना दिवस मनाइरहेको छ। भारतीय संविधान दिवसको अवसर पारेर २६ नोभेम्बर २०१२ मा दिल्लीको जन्तरमन्तरबाट अरविन्द केजरीवाल र उनका सहयोगीहरूले पार्टीको औपचारिक घोषणा गरेका थिए।
यस अवसरमा आम आदमी पार्टीका राष्ट्रिय संयोजक तथा दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले बिहिवार सामाजिक सञ्जाल एक्स मार्फत पोस्ट गर्दै पार्टीका कार्यकर्ता तथा समर्थकहरूलाई स्थापना दिवसको शुभकामना दिएका छन्।
अरविन्द केजरीवालले आफ्नो सन्देशमा आम आदमी पार्टीको अहिलेसम्मको यात्रालाई स्मरण गर्दै निकै कम समयमा पार्टीले लामो यात्रा तय गरेको बताएका छन्। उनले पार्टी गठन हुँदा विभिन्न प्रश्नहरू उठाइएको उल्लेख गर्दै पार्टी कति दिन टिक्ने र यसका नेताहरूले राजनीतिमा केही गर्न सक्लान् कि नसक्लान् भन्ने शङ्का व्यक्त गरिएको बताएका छन्।
उनले सबै प्रश्न र चुनौतीका बाबजुद पार्टीले देशभरिका जनताको मन र विश्वास जित्न सफल भएको बताएका छन्।
उनी अनुसार, आम आदमी पार्टीले दिल्ली र पञ्जाबमा सरकार गठन गरेको छ। जम्मू-कश्मीर, गोवा र गुजरात लगायत देशका विभिन्न भागमा पनि पार्टीले जनताको समर्थन र माया प्राप्त गरेको छ।
केजरीवालले आम आदमी पार्टीले सधैँ कामको राजनीतिलाई प्राथमिकता दिँदै शिक्षा र स्वास्थ्य जस्ता महत्त्वपूर्ण विषयमा ध्यान केन्द्रित गरेको बताएका छन्। राजनीतिबाट प्रभावित भएर परिवर्तन हुनुभन्दा राजनीतिमै परिवर्तन ल्याउन पार्टी सफल भएको उनको दाबी छ।
उनले देशका लागि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै आम आदमी पार्टी न डराउने र न पछि हट्ने बताएका छन्। साथै, उनले पार्टीका सम्पूर्ण कार्यकर्ता तथा समर्थकहरूलाई स्थापना दिवसको शुभकामना दिँदै उनीहरूको योगदानप्रति आभार व्यक्त गरेका छन्।
/ बिशाल