
कोलकाता, २६ नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालमा सड़क, पुल र राष्ट्रिय राजमार्गको विकासलाई नयाँ गति दिन केन्द्र सरकारले ठूलो घोषणा गरेको छ। केन्द्रिय सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले बिहिवार पूर्व मेदिनीपुर जिल्लाको कोलाघाटमा आयोजित कार्यक्रममा बङ्गालको विकासका लागि केन्द्र सरकारले आर्थिक स्रोतको कुनै कमी हुन नदिने बताएका छन्। राज्यमा सड़क तथा पूर्वाधार विकासका लागि लगभग एक लाख करोड़ रुपियाँसम्म उपलब्ध गराउने आश्वासन दिँदै उनले सड़क र पुलका विभिन्न नयाँ परियोजनाको घोषणा गरे।
कार्यक्रममा मुख्यमन्त्री शुभेन्दु अधिकारीको अध्यक्षतामा २२ वटा राष्ट्रिय राजमार्ग परियोजनासँग सम्बन्धित उद्घाटन तथा शिलान्यास कार्यक्रम आयोजना गरियो। यी परियोजनाको कूल लागत ८ हजार ७०० करोड़ रुपियाँभन्दा बढ़ी रहेको बताइएको छ। यस अवसरमा केन्द्रिय मन्त्रीले बङ्गालमा सड़क सम्पर्क सुदृढ़ बनाउने, औद्योगिक विकासलाई प्रोत्साहन गर्ने, आवागमन सहज बनाउने र सड़क दुर्घटना कम गर्ने कार्य केन्द्र सरकारको प्राथमिकतामा रहेको बताए।
नितिन गडकरीले आफ्नो सम्बोधनमा रामपुरहाटदेखि चिन्सुरासम्म लगभग १५ किलोमिटर लामो चार लेनको सड़क निर्माण गर्ने घोषणा गरे। यस परियोजनामा लगभग ७५ करोड़ रुपियाँ खर्च हुने प्रस्ताव छ। यसका साथै माल्दादेखि दुर्गापुरसम्मको सड़क परियोजनाका लागि ७५० करोड़ रुपियाँ लागतको पनि उल्लेख गरे। यी परियोजना सम्पन्न भएपछि यात्रुका साथै मालवाहक सवारीसाधनको आवागमन पनि सहज हुने अपेक्षा गरिएको छ।
उनले माल बजार, गुर्जन, चोड़ा माल र नेवरा क्षेत्रमा लगभग ६ किलोमिटर लामो पुल तथा चार लेनको सड़क निर्माणका लागि ३७५ करोड़ रुपियाँको परियोजना घोषणा गरे। यसबाट सम्बन्धित क्षेत्रको सड़क सम्पर्क सुधार हुनुका साथै स्थानीय व्यापारिक गतिविधिलाई पनि प्रोत्साहन मिल्ने सम्भावना छ। यसै क्रममा दामोदर नदीमाथि लगभग ६ किलोमिटर लामो चार लेनको पुल निर्माणका लागि ३०० करोड़ रुपियाँको परियोजना घोषणा गरियो। यो पुल निर्माण भएपछि नदीका दुवै किनारबीच आवागमन सहज हुनुका साथै क्षेत्रीय सड़क सम्पर्क पनि सुदृढ़ हुनेछ।
त्यस्तै, दार्जीलिङ जिल्लामा महानन्दा नदीमाथि पुल निर्माणका लागि २७० करोड़ रुपियाँको परियोजना घोषणा गरियो। यस परियोजनालाई पहाड़ी तथा वरपरका क्षेत्रमा यातायात व्यवस्था सुधार गर्ने दिशामा महत्त्वपूर्ण मानिएको छ।
केन्द्रिय मन्त्रीले आफ्नो सम्बोधनमा सड़क सुरक्षामा विशेष जोड दिए। उनले पश्चिम बङ्गालका लगभग ६१ वटा ब्ल्याक स्पट अर्थात् दुर्घटनाको जोखिम बढ़ी भएका स्थानहरूको सुधारका लागि ५ हजार १०० करोड़ रुपियाँको योजनालाई स्वीकृति दिने घोषणा गरे। यस योजना अन्तर्गत दुर्घटनाको सम्भावना रहेका स्थानमा सड़क सुरक्षा व्यवस्था सुदृढ़ गर्नुका साथै सर्भिस रोड, अन्डरपास, ओभरपास र अन्य आवश्यक सुधारका काम गरिनेछन्। गडकरीले सरकारको उद्देश्य सड़क र राजमार्ग निर्माण गर्नु मात्र नभई ती सड़कमा यात्रा गर्ने मानिसहरूको सुरक्षा सुनिश्चित गर्नु पनि रहेको बताए। सड़क दुर्घटना कम गर्न आधुनिक प्रविधि र उत्कृष्ट सड़क डिजाइनमा विशेष ध्यान दिइने उनले बताए।
नितिन गडकरीले आगामी पाँच वर्षभित्र पश्चिम बङ्गालका राष्ट्रिय राजमार्गहरूलाई अमेरिकाको बराबर गुणस्तरको बनाउने आफ्नो लक्ष्य रहेको बताए। विकसित भारतसँगै विकसित बङ्गालको आवश्यकता औँल्याउँदै उनले बङ्गाललाई पछाड़िएको राज्यका रूपमा नभई प्रगतिशील, समृद्ध र सम्पन्न राज्यका रूपमा विकास गर्नुपर्ने बताए। राज्यमा राम्रो सड़क सञ्जाल निर्माण भएपछि औद्योगिक गतिविधि बढ्ने, व्यापार तथा यातायात खर्च घट्ने र पर्यटन क्षेत्रले पनि लाभ पाउने उनले बताए। सुदृढ़ राजमार्ग व्यवस्थाले ग्रामीण तथा शहरी क्षेत्रबीचको सम्पर्क सुधार्नुका साथै रोजगारीका नयाँ अवसर समेत सिर्जना गर्न सक्नेछ।
केन्द्रिय मन्त्रीले मुख्यमन्त्री शुभेन्दु अधिकारी र प्रधानमन्त्री नरेन्द्र मोदीबीचको समन्वयको पनि उल्लेख गरे। डबल इन्जिन सरकारको अवधारणामा जोड दिँदै उनले केन्द्र र राज्य सरकारका दुवै इन्जिन मिलेर विकासको बुलेट ट्रेनलाई तीव्र गतिमा अगाड़ी बढ़ाउने बताए। बङ्गालमा विकासको अपार सम्भावना रहेको उल्लेख गर्दै यसका लागि केन्द्र सरकार राज्यसँग मिलेर काम गर्न तयार रहेको उनले बताए।
नितिन गडकरीले आफू पहिलो पटक बङ्गालमा यस किसिमका व्यापक घोषणा सहित आएको र यो केवल शुरुआत मात्र भएको बताए। उनले लगभग छह महिनापछि फेरि पश्चिम बङ्गाल आउने विश्वास दिलाए। त्यतिबेलासम्म घोषित परियोजनाहरू शुरु गर्ने दिशामा ठोस प्रयास गरिने उनले बताए। यसका साथै उनले परियोजना कार्यान्वयनमा सहयोग गर्न राज्य सरकारसँग आग्रह गरे। सड़क निर्माणका लागि भूमि अधिग्रहण प्रक्रिया समयमै पूरा गर्नु, वन तथा वातावरण सम्बन्धी स्वीकृति प्राप्त गर्नु र निर्माणस्थलमा रहेका अतिक्रमण हटाउनु अत्यन्त आवश्यक रहेको उनले बताए।
केन्द्रिय मन्त्री नितिन गडकरीले परियोजनामा ढिलाइ हुन नदिन सबै आवश्यक प्रशासनिक प्रक्रिया तीव्र गतिमा पूरा गर्नुपर्ने स्पष्ट पारे। केन्द्र सरकारका तर्फबाट आर्थिक सहयोगमा कुनै कमी हुन नदिइने उनले बताए। बङ्गालको विकासका लागि जति रकम आवश्यक पर्छ, त्यो उपलब्ध गराउने प्रयास गरिने उनको भनाइ थियो। पश्चिम बङ्गाललाई समृद्ध, सम्पन्न र विकसित बनाउने लक्ष्य पूरा गर्न केन्द्र सरकार पूर्ण प्रतिबद्धताका साथ राज्यको साथमा उभिएको उनले बताए। केन्द्र र राज्य सरकारबीचको राम्रो समन्वयबाट बङ्गालले सड़क, यातायात, उद्योग र पूर्वाधारका क्षेत्रमा विकासका नयाँ उपलब्धि हासिल गर्ने विश्वास पनि उनले व्यक्त गरे।
हिन्दुस्थान समाचार / भवानी थामी