असम : अलग बोडोल्याण्ड राज्यको मागलाई लिएर ‘बोडोल्याण्ड स्टेट डिमान्ड कमिटी’ गठन
असम के कोकराझार में नवगठित 'बोडोलैंड स्टेट डिमांड कमेटी' के संवाददाता सम्मेलन में माैजूद पदाधिकारी


कोकराझार (असम), २६ नोभेम्बर (हि.स.)। सोनकोषदेखि सदियासम्म फैलिएको भूभागलाई समेटेर छुट्टै बोडोल्याण्ड राज्य गठनको माग गर्दै कोकराझारमा ‘बोडोल्याण्ड स्टेट डिमान्ड कमिटी’ नामक नयाँ सङ्गठन गठन गरिएको छ। कमिटीको नेतृत्वमा आगामी दिसम्बरमा दिल्लीमा राष्ट्रियस्तरको परिचर्चा आयोजना गरिने भएको छ। कमिटीले जीके पिल्लई कमिटीलाई पुनर्जीवित गर्नुपर्ने माग पनि उठाएको छ।

अलग बोडोल्याण्ड राज्यको मागलाई लिएर बोड़ो समुदायको लामो समयदेखिको राजनीतिक आत्मनिर्णयको अधिकार तथा छुट्टै राज्यको सपना साकार पार्ने उद्देश्यका साथ बुधवार साँझ कोकराझारको देवरगाउँ स्थित बोडोल्याण्ड शहीद समाधि स्थल परिसरमा महत्त्वपूर्ण बैठक आयोजना गरिएको थियो।

बोड़ो जातिय सङ्गठन, सहयोगी सङ्गठन, बुद्धिजीवी तथा विद्यार्थी सङ्गठनहरूको उपस्थितिमा सम्पन्न बैठकमा छुट्टै बोडोल्याण्ड राज्य गठनको आन्दोलनलाई नयाँ गति दिन ‘बोडोल्याण्ड स्टेट डिमान्ड कमिटी’ नामक नयाँ सङ्गठन गठन गर्ने औपचारिक घोषणा गरिएको छ।

यस महत्त्वपूर्ण बैठकमा बोड़ो नेशनल स्टुडेन्ट्स युनियन (बन्सु), अल बोडोल्याण्ड सिनियर सिटिजन्स फोरम, बोड़ो राइटर्स एकेडेमी, एक्स भोलिन्टियर फोर्स, बोडोल्याण्ड जनजाति सुरक्षा मञ्च, सम्पूर्ण असम ट्राइबल स्टुडेन्ट्स युनियन, युनाइटेड ट्राइबल अर्गनाइजेसन अफ असम, गाउँबूढ़ा एसोसिएशन, युनाइटेड बोड़ो पिपुल्स फोरम, युनाइटेड एक्स एनडीएफबी तथा बोड़ो नेशनल पार्टी (बीएनपी) का प्रतिनिधिहरू सहभागी भएका थिए।

बैठकको अन्त्यमा आयोजित पत्रकार सम्मेलनमा कमिटीका नेतृत्वकर्ताहरूले नवगठित ‘बोडोल्याण्ड स्टेट डिमान्ड कमिटी’ को अध्यक्ष तथा चेयरपर्सनका रूपमा बोड़ो नेशनल स्टुडेन्ट्स युनियन (बन्सु) का अध्यक्ष बन्जित मन्जिल बसुमतारी र संयोजकका रूपमा बोडोसुका महासचिव नवज्योति स्वर्गियारीलाई जिम्मेवारी सुम्पिएको जानकारी दिएका छन्।

बैठकमा सहभागी सबै सहयोगी सङ्गठनहरूलाई कमिटीमा सहयोगी सदस्यका रूपमा समावेश गरिएको छ। आगामी केही दिनभित्र यी सङ्गठनहरूबाट उपसभापति, उपाध्यक्ष, संयोजक तथा सल्लाहकार चयन गरी कमिटीलाई पूर्णता दिइने बताइएको छ।

यसैबीच, बैठकमा लिइएको अर्को महत्त्वपूर्ण निर्णयअनुसार साल २०१४ मा नरेन्द्र मोदी नेतृत्वको एनडीए सरकारले छुट्टै बोडोल्याण्ड राज्य गठनको सम्भावनाको अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी मध्यस्थकर्ताका रूपमा जीके पिल्लईलाई सुम्पेर गठन गरेको ‘वन म्यान एक्सपर्ट कमिटी’ लाई तत्कालीन स्वरूपमै पुनर्जीवित गर्न केन्द्र सरकारसँग माग गरिएको छ।

आगामी दिसम्बरमा नयाँ दिल्लीमा राष्ट्रियस्तरको परिचर्चा कार्यक्रम (नेशनल सेमिनार) आयोजना गर्ने निर्णय पनि गरिएको छ। यस कार्यक्रमको उद्देश्य छुट्टै बोडोल्याण्ड राज्य गठनको सम्भावना तथा ठूलो जनसमुदायका अनसुल्झिएका समस्याहरूलाई राष्ट्रिय परिप्रेक्ष्यमा उजागर गर्नु रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

दिल्लीमा हुने परिचर्चा कार्यक्रमपछि बोडोल्याण्ड क्षेत्रमा जनताको व्यापक सहभागितामा विशाल ‘बोड़ो नेशनल कन्भेन्शन’ (राष्ट्रिय अधिवेशन) आयोजना गरिनेछ। उक्त अधिवेशनमा आन्दोलनका आगामी रणनीति तथा उपायहरूबारे विस्तृत छलफल गरिने बताइएको छ।

पत्रकार सम्मेलनमा छुट्टै राज्यको भौगोलिक सीमाना तथा अन्य सम्बन्धित मागहरू पनि स्पष्ट पारिएको छ। यसअनुसार ब्रह्मपुत्र नदीको उत्तरी किनारमा रहेको सोनकोष नदीदेखि सदियासम्म फैलिएको भूभागलाई समेटेर छुट्टै बोडोल्याण्ड राज्य गठनको लामो समयदेखिको मागलाई नवगठित ‘बोडोल्याण्ड स्टेट डिमान्ड कमिटी’ ले अगाड़ी बढ़ाउनेछ।

/ बिशाल


 rajesh pande