
नयाँ दिल्ली, २६ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा भएको अवसरमा भारतीय जनता पार्टी (भाजपा) ले देशभरि १ देखि २५ दिसम्बर २०२६ सम्म ‘सेवा दूत अभियान’ सञ्चालन गर्ने भएको छ। २५ दिनसम्म चल्ने यस राष्ट्रव्यापी जनसम्पर्क अभियानको समापन २५ दिसम्बरमा सुशासन दिवसका अवसरमा हुनेछ। यो दिन पूर्व प्रधानमन्त्री तथा भारतरत्न अटल बिहारी वाजपेयीको जन्मजयन्तीका रूपमा मनाइन्छ।
भाजपाका राष्ट्रिय महासचिव तथा अभियानका राष्ट्रिय संयोजक हरिश द्विवेदीको नेतृत्वमा सञ्चालन हुने यस अभियानको मुख्य उद्देश्य केन्द्र र राज्य सरकारका जनकल्याणकारी योजनाहरू घरघरमा पुर्याउनुका साथै योग्य व्यक्तिहरूलाई योजनाको लाभ उपलब्ध गराउनु रहेको छ। सूत्रका अनुसार, यस अभियानमार्फत पार्टीका कार्यकर्ताहरूले आम नागरिकसँग प्रत्यक्ष संवाद गरी उनीहरूका समस्या, सुझाउ र गुनासाहरू पनि सङ्कलन गर्नेछन्। ती विषयहरू सरकार तथा पार्टी नेतृत्वसमक्ष पुर्याइनेछ।
प्रत्येक विधानसभा क्षेत्रमा खटाइनेछन् सेवा दूत
अभियानअन्तर्गत भाजपाका वरिष्ठ नेता तथा छनोट गरिएका कार्यकर्ताहरूलाई विभिन्न विधानसभा क्षेत्रमा २५ दिनका लागि जिम्मेवारी सुम्पिइनेछ। उनीहरूलाई ‘सेवा दूत’ वा ‘विस्तारक’ का रूपमा खटाइनेछ। यी कार्यकर्ताहरू सम्बन्धित विधानसभा क्षेत्रमा बसेर तल्लो तहमा जनतासँग सम्पर्क स्थापित गर्नेछन्।
सूत्रका अनुसार, प्रत्येक सेवा दूतले सङ्गठनात्मक मण्डलमा करिब पाँच दिन बिताउनुपर्नेछ। यस अवधिमा उनीहरू गाउँ, शहरी वार्ड तथा मतदान केन्द्रसम्म पुगेर स्थानीय नागरिकसँग संवाद गर्नेछन्। यसका साथै सरकारी योजनाहरूको कार्यान्वयन, लाभार्थीहरूको अवस्था तथा पार्टी सङ्गठनको मजबुतीको पनि मूल्याङ्कन गर्नेछन्।
आफ्नो गृह जिल्लाभन्दा बाहिर दिइनेछ जिम्मेवारी
अभियानलाई अझ प्रभावकारी र निष्पक्ष बनाउन विभिन्न राज्यमा नेता तथा कार्यकर्ताहरूलाई उनीहरूको गृह जिल्लाभन्दा बाहिरका विधानसभा क्षेत्रमा जिम्मेवारी दिने योजना बनाइएको छ। जम्मू-कश्मीर र मध्य प्रदेशजस्ता राज्यमा यस व्यवस्थालाई विशेष प्राथमिकता दिइँदैछ। यसबाट कार्यकर्ताहरूले स्थानीय परिस्थितिको स्वतन्त्र रूपमा मूल्याङ्कन गर्न सक्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी